
- नेपालमा हाल मनसुनी र पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा भइरहेको छ।
- सोमबार पहाडी तथा हिमाली भेगमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
- वर्षा हुने क्षेत्रमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
काठमाडौ – नेपालमा अहिले मनसुनी वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ। पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना
महाशाखाका अनुसार सोमबार देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षा तथा मेघगर्जनको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।
