
काठमाडौं। काठमाडौँ जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सदस्यहरूको संलग्नता भए कडा कारबाही गर्ने चेतावनी दिएको छ।
सहकारी बचत अपचलनसम्बन्धी मुद्दाको बहसपछि अदालत परिसरबाट बाहिरिने क्रममा त्रिपाठीमाथि हातपात भएको हो। उक्त घटनाप्रति रास्वपाले प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले घटनाप्रति असहमति जनाउँदै राजनीतिक दलका लागि यस प्रकारको आचरण अस्वीकार्य भएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “यस घटनामा पार्टी अनुशासन विभागले अनुसन्धान गरिरहेको छ। यदि कुनै सदस्यको संलग्नता प्रमाणित भएमा कडा कारबाही हुनेछ।”
रास्वपाले घटनाका दोषीहरूलाई छानबिन गरी कानुनी दायरामा ल्याउन सबै सरोकारवालाहरूलाई आग्रह समेत गरेको छ।
