
- भोटेकोशी बाढीपछि त्रिशूली–३ 'ए' जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको छ भने एक जनाको शव फेला परेको छ।
- बाढी र पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ, जसमा अहिलेसम्म १२९० जनाको मृत्यु पुष्टि भएको छ भने हजारौँ बेपत्ता छन्।
- बङ्गलादेश सरकारले नेपालको विपद् राहतका लागि १० लाख अमेरिकी डलर सहयोग गरेको छ र मौसम पूर्वानुमान महाशाखाले थप वर्षाको जोखिमबारे सचेत गराएको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समचार

१.भोजपुरका ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको छ। पछिल्लो समय पौवादुङमा गाउँपालिका-३ मार्से र अरुण गाउँपालिका-५ याकुको होङरायोमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन्।पौवादुङमा गाउँपालिका-३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीयवासी त्रसित बनेका छन्। खेतीपाती गर्ने तथा घाँसदाउरा गर्न वन तथा खेतबारीमा जाने स्थानीयलाई सर्पको डर बढेको उनले बताए।‘विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ’, उनले भने, ‘अहिले हाम्रो गाउँघरमा पनि गोमन सर्प देखिन थालेको छ। यसले गाउँघरमा त्रास बढेको छ।’ सर्पसम्बन्धी विशेषज्ञले यहाँ फेलापरेको सर्प गोमन नै भएको बताएको उनले जानकारी दिए।खेतीपातीको समयमा खेतबारी तथा झाडी क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयवासीलाई थप सावधानी अपनाउनुपर्ने अवस्था आएको उनको भनाइ छ। गोमनजस्तो विषालु सर्पको टोकाइबाट गम्भीर स्वास्थ्य जोखिम हुनसक्ने भएकाले ग्रामीण क्षेत्रमा सर्पदंशसम्बन्धी जनचेतना र उपचारको व्यवस्था प्रभावकारी बनाउनुपर्ने स्थानीयको माग छ।
२. भोटेकोशीको बाढीपछि थुनिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरिएको छ।उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा सुरुङ विज्ञ श्रीराम न्यौपाने अनुसार सुरुङभित्रबाट सञ्जय साहलाई जीवितै उद्धार गरिएको हो। सुरुङभित्र अझै अन्य व्यक्ति पनि रहेको जानकारी प्राप्त भएको उनले बताएका छन्।‘अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ,’ उनले लेखेका छन्। शुक्रबार बिहान मात्र उनले सामाजिक सञ्जालमा भोटेकोशीको सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी दिएका थिए।उनका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेका छन्।
३. रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ।
जटिल अवस्थामा रहेका व्यक्ति दोस्रो पटक उद्धार गरिएका कबीर महर्जन हुन्। उनलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै, सुरुमा उद्धार गरिएका अर्का व्यक्ति सञ्जय साहको अवस्था भने सामान्य रहेको छ। स्वास्थ्य अवस्था स्थिर देखिएता पनि थप परीक्षणका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ।नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरूको संयुक्त टोलीले आज बिहानै उनीहरूको उद्धार गरेको हो।आयोजनाभित्र मानिसहरू फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो।
४. अष्ट्रेलिया भम्रणमा रहेको नेपाल ‘ए’ दोस्रो एकदिवसीय अभ्यास खेलमा दक्षिण अष्ट्रेलियासंग १३८ रनले पराजित भएको छ। २६० रनको लक्ष्य सहित मैदानमा जबाफी ब्याटिङ गरेको नेपाली टोली २२.१ ओभरमा मात्र १२१ रनमा समेटिएको हो। नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। मयान यादवले २०, दीपक डुम्रेले १८ र अनिल साहले ११ रन जोडे।दक्षिण अष्ट्रेलियाका लागि स्पेन्सर जोन्सनले ३ विकेट लिएका छन्। क्याम्पबेल थम्पसनले २ तथा हेडन शिलर, हानो ज्याकब्स र लाचलान बाङ्सले समान १ विकेट हात पारे।यसअघि, टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन बनाएको थियो। उसका लागि डाउट्जी हुगेनबोजमले शानदार शतकसहित १११ रन बनाए। उनले १२२ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। यस्तै लाचलान बाङ्सले ४२ तथा जेर्सिस वाडियाले २९ रन जोडे।नेपालका लागि राशिद खानले २ विकेट लिए। रिजान ढकाल, पवन सर्राफ, लोकेश बम र नारायण जोशीले समान १-१ विकेट हात पारे।यस्तै, नेपाली टोली यसअघि भएको आफ्नो पहिलो अभ्यास खेलमा तास्मानियासंग २ विकेटले पराजित भएको थियो।
५. रसुवा बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार २९० जनाको शव फेला परेको छ। बाढीपछि सम्पर्कविहीन भएका चार हजार ७९८ जना अझै बेपत्ता छन्।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेको शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुषको रहेको छ। आंशिक अङ्गसहितका ५३२ जना शव फेला परेको प्रहरीले जनाएको छ। उपचारका क्रममा अस्पतालमा दुई जना मृत्यु भएको थियो।त्यस्तै, बाढीमा परी अझै चार हजार ७९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बेपत्ता हुनेमा पुरुष दुई हजार ३६९ र महिला ४७८ जना छन्। प्रवक्ता काफलेका अनुसार फोनबाट जानकारी प्राप्त भएका एक हजार ३५० जना तथा विदेशी नागरिकतर्फ ६०१ जना बेपत्ता रहेको प्रवक्ता काफ्लेले बताए।बाढी प्रभावित विभिन्न स्थानबाट फेला परेका शवको पहिचान तथा व्यवस्थापनको कामलाई प्रहरीले निरन्तरता दिएको छ। ठूलो क्षेत्र प्रभावित भएकाले सम्भावित स्थानमा खोजी गर्दै फेला परेका शवको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ।
६. नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका एक व्यक्तिको शव निकालेको छ।खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहेका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए।उनका अनुसार सोही जलविद्युत् आयोजनाका दुई कर्मचारीको आज बिहान जीवितै अवस्थामा उद्धार गरेपछि उत्साहित बनेको उक्त विशेष टोलीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित चिनियाँ र अमेरिकी विज्ञसमेत खटिरहेको देखिन्छ।यसैबीच, रसुवा बाढीप्रभावित क्षेत्रमा बादल लागि मौसम सफा नभए पनि हेलिकप्टरमार्फत खाद्यान्नलगायत अत्यावश्यक सामग्री वितरण काम तीव्रताका साथ भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए
७. दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदी आंशिक थुनिएको छ।पहिरोले नदी थुनिएर नदीको बहाव प्रभावित भएपछि नदी किनारका बस्तीका नागरिकलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरेको छ।चौलानी नदीमा माथिबाट आएको सुख्खा पहिरोले नदीको केही भाग पुरिएको र पहिरो खस्ने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।
८. अहिले कर्णाली प्रदेशलगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागमा हल्का वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा ६५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।गएराति रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवासभा र सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ । सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भूभागमा तुलनात्मक रूपमा कम वर्षा भएको छ ।महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
९. बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुन:स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न उक्त रकम आज सहयोग गरेको हो ।बंगलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले त्यहाँका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको उक्त पत्र हस्तान्तरण गर्दै सोबारे जानकारी गराएका हुन् ।यसअघि, सेप्टेम्बर १ मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढी विपद्प्रति समवेदना व्यक्त गरेका थिए ।
१०. लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि पूर्ण रूपमा सुरक्षित र खुला रहेको जनाएको छ। कोषले सूचना जारी गर्दै हालै आएको बाढी तथा विपद्का कारण लुम्बिनी क्षेत्रमा कुनै असर नपरेको स्पष्ट पारेको हो। कोषका निमित्त प्रशासनिक प्रमुख तथा वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीद्वारा जारी सूचनामा तीर्थयात्री, पर्यटक, आगन्तुक तथा ट्राभल पार्टनरहरूलाई ढुक्क भएर लुम्बिनी तथा अन्य बुद्धस्थलको भ्रमण गर्न आग्रह गरिएको छ। ‘हालैको बाढीले बृहत्तर लुम्बिनी क्षेत्रमा कुनै असर पु¥याएको छैन। लुम्बिनी, कपिलवस्तु, देवदह, रामग्राम तथा अन्य प्रमुख पर्यटकीय गन्तव्यहरू सुरक्षित र आगन्तुकहरूका लागि सहज रूपमा पहुँचयोग्य रहेका छन्,’ सूचनामा भनिएको छ। कोषले समग्र नेपाल नै अहिले भ्रमणका लागि सुरक्षित रहेको जनाएको छ। प्रमुख पर्यटकीय गन्तव्य, सांस्कृतिक सम्पदा स्थल, तीर्थस्थल तथा पर्यटन सेवाहरू सामान्य रूपमा सञ्चालनमा रहेको कोषको भनाइ छ।
