
- प्रवासी नेपाली कल्याण समितिले नयाँ दिल्लीमा १४ सेप्टेम्बरका दिन २३औँ इन्डो–नेपाल सांस्कृतिक महोत्सव आयोजना गर्दैछ।
- तीजको अवसरमा गरिने उक्त कार्यक्रममा चर्चित कलाकार ज्योति मगर र दिपु मगरको सांगीतिक प्रस्तुति रहनेछ।
- यस वर्षको महोत्सव मनोरञ्जनका साथै रसुवाको भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग जुटाउने अभियानका रूपमा मनाइनेछ।
अर्जुन थापा,नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा प्रवासी नेपाली कल्याण समिति भारतले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा २३औँ इन्डो–नेपाल सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ।

यस वर्षको तीजलाई मनोरञ्जनमा मात्र सीमित नराखी मातृभूमि नेपालमा परेको विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यसमेत कार्यक्रमसँग जोडिएको आयोजकले जनाएको छ।
यही १४ सेप्टेम्बर २०२६ अर्थात् हरितालिका तीजका दिन भारतको नयाँ दिल्लीस्थित स्टोर वाला पार्क, रामलीला ग्राउन्ड, मोडल टाउन–२, नजिकैको मेट्रो स्टेशनमा कार्यक्रम आयोजना गरिने भएको हो।

प्रवासी नेपाली कल्याण समितिले भाषा, संस्कृति, परम्परा र नेपाली मौलिक पहिचानको संरक्षणसँगै नेपाल र भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले हरेक वर्ष सांस्कृतिक कार्यक्रम गर्दै आएको जनाएको छ। भारतमा लाखौँ नेपालीले रोजगारी तथा विभिन्न पेशा–व्यवसायलाई आफ्नो कर्मथलो बनाइरहेको अवस्थामा प्रवासी नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने र आपसी भाइचारा तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले यस वर्षको कार्यक्रम आयोजना गर्न लागिएको आयोजक पक्षले जनाएको छ।
यसपटकको कार्यक्रमलाई विगतका वर्षभन्दा फरक बनाउँदै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली दाजुभाइ तथा दिदीबहिनीको पीडामा साथ दिने अभियानका रूपमा समेत अघि बढाइने आयोजकले जनाएको छ। तीजको अवसरमा प्रवासमा रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै मातृभूमिमा विपत्तिमा परेका नागरिकका लागि आफ्नो तर्फबाट सक्दो सहयोग जुटाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा नेपालका चर्चित राष्ट्रिय कलाकार ज्योति मगर तथा दिपु मगरको विशेष प्रस्तुति रहनेछ। त्यसैगरी स्थानीय कलाकारहरूको समेत सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। आयोजकले दिल्ली तथा आसपासका क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीभाषी दाजुभाइ, दिदीबहिनी, आमा–बुवा, विद्यार्थी, बुद्धिजीवी, पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी भएर मनोरञ्जन लिनुका साथै रसुवा भोटेकोशी बाढीपीडितको सहयोगका लागि तन, मन र धनले साथ दिन समेत सबै प्रवासी नेपालीमा आग्रह गरिएको छ। प्रवासी नेपाली कल्याण समितिका संस्थापक खुम गुरुङ, संरक्षक बसन्त अधिकारी, अध्यक्ष सूरज राना, पूर्वअध्यक्ष फरिन्द्र अधिकारी, वरिष्ठ उपाध्यक्षद्वय कृष्ण शर्मा र फर्श थापा, महासचिव जीवन शर्मा, कोषाध्यक्ष गणेश अधिकारी, सह–कोषाध्यक्ष ज्योति न्यौपाने, संगठन सचिव पीताम्बर शर्मा, सचिव युवराज पौडेल, सांस्कृतिक सचिव केशव रायमाझी, सह–संगठन सचिव किशन तामाङ तथा वरिष्ठ सल्लाहकार रुद्र सारु मगरलगायतको नेतृत्वमा समिति कार्यक्रमको तयारीमा जुटेको जनाइएको छ।
आयोजकले यस वर्षको २३औँ इन्डो–नेपाल सांस्कृतिक महोत्सवलाई ‘तीजको रमाइलोसँगै मातृभूमिको पीडामा साथ’ भन्ने भावनाका साथ सफल बनाउन सबै नेपाली समुदायको साथ र सहयोग आवश्यक रहेको जनाएको छ

