
- रसुवामा आएको भोटेकोशी बाढीका कारण रोजगारी र तीर्थयात्रामा गएका १३ जना मुगाली नागरिक सम्पर्कविहीन भएका छन्।
- सम्पर्कविहीन हुनेमा रसुवा भन्सार र हाइड्रोपावरमा कार्यरत श्रमिक तथा मानसरोवरबाट फर्किएका परिवारका सदस्यहरू रहेका छन्।
- बेपत्ताहरूको खोजी कार्य जारी छ र घटनापछि उनीहरूका आफन्तहरू चिन्तित अवस्थामा रहेका छन्।
रतन बहादुर रावल मुगु । रोजगारीका लागि रसुवा पुगेका मुगुका १३जना सम्पर्कविहीन भएका छन्। बुधबार भोटेकोशी नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार सोरु गाउँपालिका–१, धुपी गाउँका ४२ वर्षीय धनबहादुर मल्ल र सोही वडाका ३५ वर्षीय हिक्मत मल्ल रसुवा भन्सारमा काम गर्दै आएका थिए। उनीहरू दुवै जना सम्पर्कविहीन भएका छन्।
त्यस्तै, छायाँनाथ रारा का वडा नं ३२ वर्षीय लालबहादुर सेजुवाल रसुवा हाइड्रोपावरमा काम गर्दै आएका थिए। उनीहरू पनि सम्पर्कविहीन भएका छन्।
सोरु गाउँपालिका–१० का करिब २४ वर्षीय पर्मराज जैसी रसुवा भन्सारमा काम गर्दै आएका थिए। सोही वडाकी २६ वर्षीया शकुन्तला जैसी र उनका चार वर्षीय छोरा डिम्सन जैसी पनि रसुवामा सम्पर्कविहीन भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।
त्यसैगरी, छायानाथ रारा नगरपालिका–६ का ३२ वर्षीय धर्मेन्द्र भाम पनि हाइड्रोपावरमा काम गर्दै आएका बेला सम्पर्कविहीन भएको प्रहरीको विवरणमा उल्लेख छ।
यसैगरी, खत्याड गाउँपालिका–९, नखर्जीका १९ वर्षीय लोकेन्द्रबहादुर सार्की र सोही गाउँकी २६ वर्षीया पुष्पा सार्की पनि बुधबार बिहान ९ बजेपछि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। पुष्पा सार्की लोकेन्द्रबहादुर सार्कीकी श्रीमती हुन्।
यता, मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार मुगुम कार्मारोङ गाउँपालिका–२ का, हाल काठमाडौंको बौद्धमा बसोबास गर्दै आएका करिब ५६ वर्षीय झ्यावल लामा, उनकी धर्मपत्नी करिब ५४ वर्षीया कार्मा छेन्जुम लामा र ७० वर्षीया आमा साङ्मा लामा पनि रसुवामा सम्पर्कविहीन भएका छन्।
उनीहरू मानसरोवर तीर्थयात्राबाट घर फर्किने क्रममा रसुवामा हेलिकप्टरको प्रतीक्षामा रहेको अध्यक्ष लामाले बताउनुभएको छ।
रसुवा जिल्लामा बाढीका कारण ठूलो क्षति भएको खबरपछि मुगुका गाउँबस्तीमा समेत आफन्तको अवस्थाबारे चिन्ता बढेको छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा अवस्थाबारे यकिन जानकारीको प्रतीक्षा गरिएको छ।
