जेन्जी आन्दोलनमा भदौ २४ को भाटभटेनीमा भेटिए ७ कंकाल, सोही दिनदेखि ७ जना बेपत्ता एक वर्ष बित्दा पनि सनाखत हुन सकेन, सात परिवार अझै ‘सास वा लास’को प्रतीक्षामा

समाचार सारांश
Auto Generated by AI
  • गत वर्षको आगजनीमा जलेका सात शवको डिएनए परीक्षण असफल हुँदा पहिचान खुल्न सकेको छैन।
  • हराएका सात व्यक्ति र फेला परेका शवको संख्या मिल्दा पनि वैज्ञानिक प्रमाणको अभावमा परिवार अन्योलमा छन्।
  • एक वर्ष बितिसक्दा पनि आफन्तको अवस्थाबारे जानकारी नपाउँदा सातै परिवार पीडा र अनिश्चिततामा बाँच्न बाध्य छन्।

एक वर्ष बित्दा पनि खुलेन पहिचान, सात परिवार अझै ‘सास वा लास’को प्रतीक्षामा।

अर्जुन थापा काठमाडौं । गत वर्ष भदौ २४ गते काठमाडौंमा भएको आगजनीपछि भाटभटेनी सुपरमार्केटका भग्नावशेषबाट फेला परेका सात मानव कंकालको पहिचान अझै हुन सकेको छैन। संयोग अझै गम्भीर छ सोही दिनदेखि काठमाडौंका विभिन्न स्थानबाट आफ्ना परिवारका सदस्य सम्पर्कविहीन भएको भन्दै ठ्याक्कै सातवटा निवेदन प्रहरीमा दर्ता भएका छन्।

Workplace

तर भाटभटेनीमा फेला परेका सात शव र ती सातवटा हराएका व्यक्तिबीच कुनै सम्बन्ध छ कि छैन भन्ने यकिन हुन सकेको छैन। पहिचानका लागि गरिएको प्रयासमा वैज्ञानिक तथा प्राविधिक कठिनाइ आएपछि प्रहरीसमेत निष्कर्षमा पुग्न सकेको छैन।
यससँगै सात परिवारको पीडा झनै गहिरिएको छ। उनीहरू न आफ्नो आफन्त जीवित छन् भन्ने आशा पूर्ण रूपमा त्याग्न सकेका छन्, न त मृत्यु भएको पुष्टि भएपछि अन्तिम संस्कार र काजकिरिया गर्न नै पाएका छन्।

भाटभटेनीका भग्नावशेषमा भेटिएका थिए सात शव
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न सरकारी तथा निजी संरचनामा तोडफोड र आगजनी भएको थियो। त्यस क्रममा चाबहिलको चुच्चेपाटी र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पनि आगजनीको निशानामा परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाक खोज खबर लाई जानकारी दिए  अनुसार चाबहिलस्थित भाटभटेनीबाट ६ वटा र कोटेश्वरस्थित भाटभटेनीबाट एउटा गरी सात मानव शव फेला परेका थिए।

आगोमा लामो समयसम्म जलेका कारण ती शव अत्यन्तै खराब अवस्थामा थिए। कतिपय अवस्थामा हड्डीका साना टुक्राबाहेक पहिचान गर्न सकिने कुनै संरचना बाँकी थिएन। प्रहरीले आगो निभेको केही दिनपछि भग्नावशेषमा प्रवेश गर्दा ती शवका अवशेष फेला पारेको थियो। ‘शव होइन, खरानीजस्तो अवस्थामा थिए’ पहिचानका लागि ती अवशेष काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागमा पठाइएको थियो। फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार ती शव सामान्य अर्थमा पोस्टमार्टम गर्न सकिने अवस्थामा नरहेको नेपाल खोजखबर लाई बताए ।

उनका अनुसार पोकामा ल्याइएका अवशेषमा अधिकांश भाग खरानीजस्तो भइसकेको थियो। कतिपय ठाउँमा हड्डीका साना टुक्रा मात्र बाँकी थिए। ती हड्डीसमेत छोएपछि फुस्स जाने अवस्थाका थिए। अत्यधिक समयसम्म आगोमा जलेका कारण शवमा रहेका टिस्यु, सेल तथा हड्डीभित्रका जैविक तन्तुसमेत नष्ट भइसकेका थिए। यही कारण शवको पहिचानका लागि आवश्यक पर्ने डीएनए नमुना निकाल्नसमेत कठिन भयो।
डीएनए परीक्षणको प्रयास पनि असफल भएको उनको भनाइ छ ।

आगोमा जलेर पहिचान गर्न कठिन भएका शवको वैज्ञानिक पहिचानका लागि सामान्यतः डीएनए परीक्षण महत्वपूर्ण माध्यम मानिन्छ। तर भाटभटेनीमा फेला परेका सात शवको अवस्था यति खराब थियो कि परीक्षणका लागि आवश्यक जैविक नमुना नै भेटिएन। शिक्षण अस्पतालको फरेन्सिक विभागबाट पहिचान सम्भव नभएपछि अवशेष प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा लगिएको थियो।

प्रहरीले नेपालमै सम्भव नभएपछि विदेशका प्रयोगशालासँग समेत समन्वय गरेको जनाएको छ। छिमेकी देशका प्रयोगशालामा समेत परीक्षणको सम्भावनाबारे प्रयास गरिएको भए पनि अत्यधिक जलेका कारण डीएनए परीक्षण सम्भव नहुने जवाफ आएको प्रहरीको भनाइ छ।अहिले ती सात शवका अवशेष प्रहरीको प्रयोगशालामा सुरक्षित राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। त्यसै दिनदेखि हराएका सात जना कहाँ छन्? भाटभटेनीबाट सातवटा शव फेला परेको घटनासँगै अर्को तथ्यले प्रहरीलाई झनै अन्योलमा पारेको छ।
भदौ २४ गतेदेखि काठमाडौंका विभिन्न स्थानबाट आफ्ना परिवारका सदस्य सम्पर्कविहीन भएको भन्दै सात जनाको खोजीका लागि प्रहरीमा निवेदन समेत  परेको छ।

हराएका व्यक्तिको संख्या र भाटभटेनीमा फेला परेका शवको संख्या ठ्याक्कै सात–सात भएपछि यी दुई घटनाबीच सम्बन्ध हुन सक्ने सम्भावनालाई नकार्न नसकिने प्रहरी अधिकारीहरू बताउँछन्। तर डीएनए परीक्षणबाट पुष्टि नभएसम्म ती शव हराएका सात व्यक्तिकै हुन् भनेर प्रहरीसँग घोषणा गर्ने आधार छैन प्रहरी नै अन्योलमा रहेको प्रहरी उच्च अधिकारी हरुको भनाइ छ ।

प्रहरीका अनुसार सबैभन्दा ठूलो समस्या यही हो—सातवटा अवशेषमध्ये कुन अवशेष कुन परिवारको सदस्यको हो भन्ने वैज्ञानिक रूपमा छुट्याउन सकिएको छैन। सात परिवारको पीडा झन् गहिरिँदै एक वर्षदेखि ती सात परिवार अनिश्चितताको अवस्थामा छन्। आफ्नो परिवारको सदस्य कहाँ छ भन्ने जानकारी नहुँदा उनीहरूका लागि यो घटना केवल एउटा हराएको व्यक्तिको खोजी मात्र बनेको छैन, जीवनभरको पीडाजस्तो बनेको छ।

भदौ २४ गते घरबाट निस्किएका हाम्रा आफन्त कहाँ गए?
काठमाडौं बाहिर पनि पाँच शवको पहिचान खुलेन
भाटभटेनी घटनासँग जोडिएको पहिचानविहीन शवको संख्या काठमाडौंमा मात्र सीमित छैन। भदौ २४ गते देशका विभिन्न स्थानमा भएको आगजनीपछि सुनसरी र मोरङमा थप पाँचवटा मानव शव फेला परेका थिए। सुनसरीको इटहरीस्थित भाटभटेनीमा चारवटा शव फेला परेका थिए। ती शवको अवस्था पनि अत्यन्तै जलेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीमध्ये कतिपय शवको लिंगसमेत पहिचान गर्न नसकिने अवस्थामा थिए।

त्यस्तै, मोरङको विराटनगरस्थित भाटभटेनीमा पनि एउटा मानव शव फेला परेको थियो। उक्त शवसमेत अत्यधिक जलेका कारण पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ। ती शवबाट डीएनए परीक्षणका लागि नमुना संकलन गरी काठमाडौं पठाइए पनि परीक्षणबाट पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।

देशभरका १२ शव अझै रहस्यमा यसरी भदौ २४ गतेको आगजनीपछि काठमाडौंका सातसहित देशभर १२ वटा मानव शव फेला परेका थिए, जसको पहिचान अझै खुल्न सकेको छैन। घटना भएको लामो समय बितिसक्दा पनि शवको सनाखत नहुनु आफैंमा गम्भीर विषय हो। पहिचान नखुल्दा अनुसन्धान प्रभावित हुनुका साथै मृतकका परिवारले पनि आफ्नो प्रियजनको अन्तिम सत्य स्वीकार गर्ने आधार पाउन सकेका छैनन्।

विशेषगरी काठमाडौंका ती सात परिवारका लागि यो पीडा अझ गहिरो छ, जसले भदौ २४ गतेदेखि आफ्ना आफन्त हराएको भन्दै प्रहरीमा निवेदन दिएका छन्। उनीहरूसँग अहिले पनि एउटा मात्र प्रश्न छ ‘हाम्रा मान्छे कहाँ छन्?’ भाटभटेनीका भग्नावशेषबाट फेला परेका सातवटा खरानीजस्ता अवशेष र भदौ २४ गतेदेखि हराएका सात व्यक्तिबीच सम्बन्ध छ कि छैन भन्ने प्रश्नको वैज्ञानिक जवाफ अझै प्राप्त हुन सकेको छैन।
डीएनए परीक्षण सम्भव नभएको अवस्थामा ती सात परिवारले कहिले आफ्नो आफन्तको वास्तविक अवस्था थाहा पाउने हुन् भन्ने प्रश्नसमेत अनुत्तरित  रहेको छ।

एक वर्ष बितिसक्दा पनि सात परिवारको प्रतीक्षा रोकिएको छैन उनीहरू अझै ‘सास वा लास’को अन्तिम सत्यको पर्खाइमा छन्।

जेन्जी आन्दोलनमा भएको   घटना एउटा नेपालको लागि कालो दिन थियो अब यस्ता आन्दोलनको परिकल्पना नहोस आगजनी तोडफोड र हिंसा आन्दोलनको उदेश्य कहिले हुनु हुदैन आन्दोलन शान्तिप्रिय पनि हुन्छन् सबै नेपाली नागरिक सचेत हुनु प्रछ आजको पिडि डिजिटल युगको पिडि हो त्यसैले सबैले आफ्नो कर्तव्य देश प्रतिको प्रेम र देश भक्ती भावाना सबैनेपाली नागरिकमा हुनु प्रछ नेपाल खोज खबर परिवार यहीँ कामना गर्दा छ सम्पुर्ण नेपाली नागरिकहरु सङ्ग थप अन्य अपडेटको लागि हाम्रो आधिकारिक फेसबुक पेज मार्फत जोडिनु होला ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अर्जुन थापा
लेखकको बारेमा

अर्जुन थापा

थापा नेपाल खोज खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?