
- हेटौँडामा ट्रकको ठक्करबाट भारतीय मोटरसाइकल चालकको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका २७ वर्षीय सुमन मण्डलको उपचारका क्रममा अस्पतालमा निधन भयो।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
काठमाडौ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–९ पशुपतिनगरमा शनिबार ट्रकको ठक्करबाट भारतीय मोटरसाइकल चालकको मृ`त्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो करिब २:५० बजे हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको डब्लु बी १४ डब्लु ८५२५ नम्बरको भारतीय मोटरसाइकललाई सोही दिशातर्फ नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको लु १ ख ८११६ नम्बरको खाली ट्रकले ठक्कर दिएको हो।
दुर्घटनामा भारतको पश्चिम बंगाल निवासी २७ वर्षीय सुमन मण्डल गम्भीर घाइते भएका थिए।
तत्काल उद्धार गरी हेटौँडा अस्पताल पुर्याइए पनि उपचारकै क्रममा दिउँसो ३:१५ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल तथा ट्रक चालक दाङको दङ्गीशरण गाउँपालिका–६ निवासी ३९ वर्षीय पूर्णबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
