
काठमाडौं – सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान आगलागी भएको छ। बिहान करिब ७:४५ बजे लागेको आगो नियन्त्रणका लागि बारुणयन्त्र प्रयोग गरी प्रयास भइरहेको सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दिनेश घिमिरेले जानकारी दिएका छन्।
उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्षसमेत रहेको छ। आगलागीका कारण अझै खुल्न सकेको छैन भने तीनवटा कोठामा क्षति पुगेको अनुमान गरिएको छ। हालसम्म मानवीय क्षति भएको कुनै सूचना प्राप्त भएको छैन।
सिंहदरबारस्थित सोही भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ। आगलागी नियन्त्रण प्रयास जारी रहेको र क्षतिको विस्तृत विवरण संकलन भइरहेको सुरक्षा स्रोतले जनाएको छ।
