काठमाडौं – माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र उल्ट्याएर पुनः राजतन्त्र स्थापना गर्ने प्रयास ठूलो भ्रम मात्र हुने बताएका छन्। उनले गणतन्त्र कुनै एक दलको संघर्षबाट मात्रै नभई देशभरका सीमान्तकृत वर्ग, लिंग, जाति, र समुदायको बलिदानको परिणामस्वरूप स्थापित भएको स्मरण गराए।

आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, “गणतन्त्रका लागि जनताको रगत बगेको छ। सीमित माओवादीले बन्दुक उठाएको कारण मात्रै होइन, सबै उत्पीडित समुदायहरूको त्यागले आज हामी यो प्रणालीमा छौं।” उनले लोकतन्त्रलाई कुण्ठित गर्ने र राजतन्त्र फर्काउने प्रयास गरिनु निरर्थक हुने उल्लेख गर्दै चेतावनी दिए।
प्रचण्डले राजतन्त्रकालीन समयमा गणतन्त्रको माग गर्दा जनताका टाउकाको मोल तोकिएको स्मरण गर्दै अहिले ती राजावादीहरू नै सम्मानित संसदमै रहेको बताए। उनले भने, “लोकतन्त्र र राजतन्त्रको तुलना हुनै सक्दैन। विचारका रूपमा हामी असहमत हुन सक्छौं, तर लोकतान्त्रिक हकको सम्मान गरिन्छ।”
उनले सरकार सेटिङमा आफ्ना मान्छे भर्ती गर्नेतर्फ मात्रै केन्द्रित हुँदा प्रतिक्रियावादी शक्तिहरूले मौका पाएको भन्दै सचेत रहन आग्रह गरे। उनका अनुसार, सरकारको ध्यान जनताको जीवनस्तर सुधार्न केन्द्रित हुनुपर्नेमा हाल राजनीतिक नियुक्ति र आन्तरिक व्यवस्थापनमै सीमित देखिएको छ, जसले गणतन्त्र विरोधी तत्वहरूलाई सक्रिय हुने अवसर दिएको छ।
“हाम्रो व्यवस्थाको रक्षा हामी आफैंले गर्नुपर्छ। जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई खतरामा पार्ने काम कसैले गर्न मिल्दैन।” माओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन सरकार र संसद् सबै संयन्त्र गम्भीर हुनुपर्ने बताएका छन्।
