
- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ हुने भएको छ।
- सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेललाई विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
- सर्वोच्च अदालतले उक्त रिटका सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गरेको छ।
काठमाडौ – नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते मङ्गलवार हुने भएको छ ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै अस्ति असार १० गते अदालतमा रिट निवेदन दिनुभएको थियो । यो रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो ।
उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा गएको असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाण्डौमा उपस्थित गराइएको थियो । विशेष अदालतले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पूर्वअर्थमन्त्री पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ ।
