
- गुल्मीमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने पाल्पामा लागूऔषधसहित तीनजना पक्राउ परेका छन्।
- नेपालमा बाढीका कारण ज्यान गुमाएकाप्रति विदेशमा रहेका नेपालीहरूले श्रद्धाञ्जली अर्पण गर्नुका साथै राहत संकलन अभियान सुरु गरेका छन्।
- बाढी र पहिरोमा परी ९०३ जनाको मृत्यु र हजारौँ बेपत्ता भएका छन् भने राहतका लागि सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ।
राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका समचार

१.गुल्मीको धुर्कोट गाउँपालिका–५ धनार्जेमा आइतबार साँझ टिप्पर र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा इस्मा गाउँपालिका–६ अम्मरपुरका ३२ वर्षीय धनिश्वर बस्नेत रहेका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
बस्नेतको शव गुल्मी अस्पतालमा ल्याइएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार २३ वर्षीय कमल पछाई सामान्य घाइते भएका थिए।
२. नेपालमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै नोएडा सेक्टर–३४ कम्युनिटी सेन्टरमा नोएडामा बसोबास गर्ने नेपाली समुदायको आयोजनामा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
कार्यक्रममा नोएडा तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका उल्लेख्य व्यक्तिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दीप प्रज्वलन गर्दै बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरिएको थियो।
कार्यक्रमका मुख्य आयोजकहरूमा दीपक जीसी, किशन थापा, कमल थापा, सुरज कुमार, विष्णु शर्मा, धर्मराज र नारायण बीके लगायत नेपाली समुदायका अगुवाहरू रहेका थिए।
श्रद्धाञ्जली सभामा आयोजक तथा सहभागीहरूले नेपाल अहिले अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै देशमा भएको दुःख र पीडामा विदेशमा रहेका नेपालीहरू पनि सँगै रहेको बताएका थिए। विपत्तिको यस घडीमा सबै नेपाली एकजुट भएर पीडितहरूको सहयोगमा अघि बढ्नुपर्नेमा उनीहरूले जोड दिए।
३. नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले जापानमा राहत संकलन अभियान सञ्चालन हुने भएको छ।
जापानमा कार्यरत तथा सामाजिक कार्यमा सक्रिय नेपाली युवा सरोज भुषालको पहलमा उनी कार्यरत कम्पनी शिनानोयाको स्वीकृतिमा कम्पनीअन्तर्गत सञ्चालित करिब २० वटा सुपरमार्केटमा राहत रकम संकलनका लागि ‘बोकिन बाको’ (दान पेटिका) राखिएको छ।
नेपालमा बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले भुषालले आफू कार्यरत कम्पनीसमक्ष राहत संकलन अभियान सञ्चालन गर्न प्रस्ताव गरेका थिए।
उनको प्रस्तावलाई कम्पनीले सकारात्मक रूपमा स्वीकार गर्दै आफ्ना सुपरमार्केटहरूमा दान पेटिका राख्ने व्यवस्था मिलाएको भुषालले जानकारी दिए।
जापानमा रहेका नेपाली तथा स्थानीय नागरिकले समेत आफ्नो इच्छाअनुसार सहयोग गर्न सक्ने गरी अभियान सञ्चालन गरिएको जनाइएको छ।
नेपालमा विपत्ति पर्दा विदेशमा रहेर पनि आफ्नो देश र पीडित नागरिकका लागि सहयोग जुटाउने यो पहलले मानवीय एकताको सकारात्मक सन्देश दिएको छ।
४. सुनको भाउ आज पनि घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
हिजो एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आज पनि ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार रुपैयाँ थियो । गएको मंगलवारदेखि लगातार सुनको भाउ घट्दै आएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । हिजो तोलामा १८५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलाको ४ हजार ७ सय ८० रुपैयाँ नै कायम रहेको महासंघले जनाएको छ ।
५. रसुवा बाढीमा परेर ज्यान गुमाएका तथा सम्पर्कविहीन भएकाहरूको परिवार तथा आफन्त अस्पतालहरूमा भावविह्वल अवस्थामा देखिन्छन्। उनीहरू पाँच दिनदेखि शिक्षण अस्पताल काठमाडौं, चितवन तथा पोखरा लगायतका अस्पतालहरूमा भौँतारिरहेका छन्।
अस्पतालहरूमा शव पहिचान गर्न आउनेको आफन्तहरूको भिड बढेको छ। पहिचान गर्न सहज होस् भनेर अस्पतालहरूले फोटो डिस्प्लेमा भेटिएका शवहरूको फोटो राखिदिएको छ भने हराएकाका आफन्तहरूले अस्पतालका भित्तामा फोटो र सम्पर्क नम्बर राखेर टाँसिरहेका छन्।
डिस्प्ले कक्ष र शव गृह अगाडिको दृश्य निकै भावविह्वल देखिन्छन्।
६. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।
भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार र राहतका साथै क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच र पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।
७. भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
बाढीविद् सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव तथा सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने विश्वास व्यक्त गरे ।
८. शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बैंकको तर्फवाट ५५ लाख र कर्मचारीहरुको तर्फवाट १० लाख गरी कूल ६५ लाख आर्थिक सहयोग गरेको छ ।
प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धार्दिङ्ग, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जिवन प्रभावित भइरहेको वर्तमान अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्धेश्यले सो कोषमा रकम सहयोग गरेको छ ।
९. पाल्पाको तिनाउ गाउँपालिका–३ मा लागु औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी चेकिङ टोलीले बुटवलबाट गुल्मी जाँदै गरेको लु.प्र.०१–००१ ज ७५७९ नम्बरको ईभी हाइस गाडी चेकजाँच गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको हो ।प्रहरीले उनीहरूको साथबाट नाइट्राजेपाम (Nitrazepam) २५–२५ ट्याब्लेटका तीन पत्ता र स्पास खुल्ला ६–६ ट्याब्लेट बरामद गरेको जनाएको छ ।
पक्राउ पर्नेमा गुल्मी रेसुङ्गा नगरपालिका–४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, साेही स्थानका बस्ने २५ वर्षीय मेहर सिंह राना र रेसुङ्गा नगरपालिका–९ सेजुवा बस्ने २६ वर्षीय एकराज पन्थी रहेका छन् । तीनै जनालाई जिल्ला अदालत पाल्पाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।
१०. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा बाढीपछि विभिन्न जिल्लामा ९०३ शव फेला परेका छन्।
हालसम्म २६७ जना घाइते भएका छन् भने १०,४५१ जनाको उद्धार गरिएको छ।
प्रभावित क्षेत्रमा २०,८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। करिब ४,२४७ जना अझै सम्पर्कविहीन रहेका छन्।
