
- प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई देशभरका उत्पीडित समुदायका सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ।
- उहाँले सांसदहरूलाई राष्ट्रिय मूलधार र समुदायबीच सेतु बनी आफ्ना क्लस्टरका मुद्दा उठाउन तथा राष्ट्रिय कानुन निर्माणमा लाग्न निर्देशन दिनुभयो।
- प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य र समस्या समाधानमा प्रविधिको प्रयोगमा जोड दिँदै डिजिटल माध्यम खुला रहने बताउनुभयो।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एक क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित तथा पछाडि पारिएका समुदाय (क्लस्टर) का सच्चा पहरेदार बन्न आह्वान गर्नुभएको छ।

प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा प्रधानमन्त्री शाहले समानुपातिक सांसदहरूको भूमिकालाई राष्ट्रिय मूलधार र समुदायबीचको सेतु का रूपमा व्याख्या गर्नुभयो।
उहाँले सांसदहरूलाई सम्बोधन गर्दै भन्नुभयो,
“तपाईंहरूको पहिलो प्राथमिकता आफ्ना क्लस्टरका मुद्दा उठाउनु हो, त्यसपछि राष्ट्रिय कानुन निर्माणमा केन्द्रित हुनुहोस् र समग्र देशको विकासमा ध्यान दिनुहोस्। प्रत्यक्ष निर्वाचित सांसदहरू एउटा क्षेत्रमा सीमित हुन्छन्, तर तपाईंहरू देशभरका आफ्ना क्लस्टरका लागि आशाको केन्द्र हुनुहुन्छ।”
प्रधानमन्त्री शाहले आगामी पाँच वर्षसम्म निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै समस्या समाधानमा प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
छलफलमा उठेका तात्कालिक विषयहरूमा आवश्यक फलोअप गरिने तथा आगामी दिनमा सुझाव र समन्वयका लागि डिजिटल माध्यम सधैं खुला रहने उहाँले बताउनुभयो।
