रूपन्देही। अड्गुरी समाज रूपन्देहीले युवाहरूलाई संगठित गर्दै नेतृत्व विकास, सामाजिक उत्तरदायित्व बोध तथा समाजको भावी नेतृत्व निर्माण गर्ने उद्देश्यसहित युवा भेला मार्फत युवा उपसमिति गठन गरेको छ। बुटवलस्थित सिद्धार्थ कटेजमा सम्पन्न कार्यक्रममा समाजले विभिन्न उद्देश्यहरू तय गर्दै औपचारिक रूपमा युवा उपसमिति गठन गरेको हो।


कार्यक्रमको अध्यक्षता अड्गुरी समाज रूपन्देहीका अध्यक्ष रामप्रसाद पन्थीले गर्नुभएको थियो भने प्रमुख अतिथि पाणिनी गाउँपालिकाका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष टेकराज न्यौपाने रहनुभएको थियो। प्रमुख अतिथिले ब्यानर वाचन गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो। समुद्घाटन पछि स्वागत मन्तव्य कार्यक्रमका संयोजक सूर्यप्रसाद पौडेलले राख्नुभएको थियो।

समाजले युवाहरूको सशक्तिकरण र नेतृत्व विकास, सामाजिक, सांस्कृतिक तथा शैक्षिक गतिविधिमा सक्रिय सहभागिता, समाज र समग्र समुदायप्रति दायित्वबोध गर्ने जिम्मेवार युवा शक्ति निर्माण, भावी नेतृत्व तयार गर्ने वातावरण सिर्जना तथा प्रविधिमैत्री र नवीन सोचको अभिवृद्धि गर्ने उद्देश्यसहित युवा उपसमिति गठन गरेको जनाएको छ।
गठन गरिएको युवा उपसमितिको संयोजकमा सूर्यप्रसाद पौडेल चयन हुनुभएको छ। उपसमितिको सहसंयोजकमा रबिन न्यौपाने र सचिवमा अविजित पन्थी सहित १५ जना सदस्य चयन भएका छन्।

कार्यक्रममा ‘Youth Participation of Social Development’ विषयमा मोटिभेसनल स्पिकर मुकुन्द ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो। उहाँले सामाजिक विकासमा युवाहरूको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै नेतृत्व विकास, सकारात्मक सोच, आत्मनिर्भरता र सामाजिक उत्तरदायित्वमा युवाको भूमिकाबारे प्रकाश पार्नुभयो। साथै युवाहरूले विदेशमुखी सोच मात्र होइन, स्वदेशमै केही गर्ने अठोट राखेर सीप, क्षमता र प्रविधिको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। प्रशिक्षणका क्रममा युवाहरूले विभिन्न जिज्ञासाहरू राख्दै कार्यक्रमलाई थप अन्तरक्रियात्मक र रोचक बनाएका थिए।
यसै क्रममा समाजका उपाध्यक्ष नारायणप्रसाद घिमिरेले डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान अवस्थामा बैंकिङ क्षेत्रमा हुने कारोबार कसरी सुरक्षित रूपमा गर्ने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै उहाँले गाउँमै बसेर कृषि व्यवसायमार्फत पौरख गरिरहेका व्यक्तिहरूका उदाहरण प्रस्तुत गर्दै अबका युवाहरूले पनि स्वदेशमै आत्मनिर्भर बन्ने बाटो अपनाउनुपर्नेमा जोड दिनुभयो।
त्यसै अवसरमा अड्गुरी समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार लुकराज न्यौपानेले संस्थाको स्थापना सुरुवाती समयदेखि हालसम्मको यात्राबारे जानकारी गराउनुभएको थियो। उहाँले अड्गुरीलाई जन्मथलो बनाएर रूपन्देहीमा कर्मथलो बनाई व्यापार, व्यवसाय, अध्ययन तथा रोजगारीका विभिन्न सिलसिलामा बसोबास गरिरहेका एउटै गाउँका व्यक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। गाउँमा जस्तै समाजको विकास, आपसी सद्भाव र सहकार्य कायम राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
मन्तव्यकै क्रममा प्रमुख अतिथि पाणिनी गाउँपालिकाका अध्यक्ष तथा समाजका संस्थापक अध्यक्ष टेकराज न्यौपानेले अब देशको नेतृत्व युवाहरूले लिने समय आएको बताउनुभयो। उहाँले हरेक क्षेत्रमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै अड्गुरी समाजबाट गठन भएको युवा उपसमितिलाई समाजको तर्फबाट सबै किसिमको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै समाजमा नयाँ सोच र ऊर्जा सहित नयाँ–नयाँ गतिविधि तथा कार्यहरू सञ्चालन गर्न युवाहरूलाई अग्रसर हुन आग्रह गर्नुभयो।
कार्यक्रममा १०० भन्दा बढी युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समापन मन्तव्यमा अड्गुरी समाज रूपन्देहीका अध्यक्ष रामप्रसाद पन्थीले युवाहरूलाई सक्रिय, जिम्मेवार र समाज–मुखी बन्न प्रेरित गर्दै भन्नुभयो, “यो उपसमितिले समाजका गतिविधिमा नयाँ ऊर्जा भर्ने विश्वास छ। हामी सबैले मिलेर यसलाई सहयोग गरौं र युवाहरूको नेतृत्वमा समाजलाई अझ सुदृढ बनाउने दिशामा काम गरौं।”
कार्यक्रमको सञ्चालन अड्गुरी समाज रूपन्देहीका महासचिव जीवन अधिकारीले गर्नुभएको थियो।

