मुगु — छायाँनाथ रारा नगरपालिका–६ रञ्जन बालैमा जेन्जी शहीदहरूको सम्झनामा एक धर्मशाला निर्माण गरिएको छ। अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा तयार गरिएको उक्त धर्मशाला भदौ २३ र २४ मा भएको जेन्जी आन्दोलनमा राष्ट्रका लागि बलिदान दिने ७४ जना शहीदहरूको सम्मानमा निर्माण गरिएको हो।

धर्मशालाको कुल लागत करिब नौ लाख रुपैयाँ रहेको छ। भवनमा करिब ३० जनासम्म बस्ने र सुत्ने व्यवस्था रहेको छ, जसले विशेषगरी जनै पूर्णिमा तथा अन्य धार्मिक अवसरमा जुम्ला, कालिकोट, बाजुरा र मुगुका विभिन्न ठाउँबाट आउने तीर्थयात्रीहरूलाई अभूतपूर्व सुविधा उपलब्ध गराउनेछ।
अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बोहरा, जो हाल स्पेनको कोस्टा ब्लाङ्कामा बस्दै हुनुहुन्छ, लामो समयदेखि मुगु जिल्लामा दैवी प्रकोप, विपत्ति, दुःख–सुखका बेला सहयोग पुर्याउँदै आउनुभएको छ। उहाँले आर्थिक सहयोगसँगै शैक्षिक सामग्री, खाद्यान्न, लत्ताकपडा वितरण गर्दै आउने गरेका छन्।
त्यसका साथै विभिन्न विद्यालयमा अध्ययन सामाग्री वितरण, मसानघाटमा मलामीलाई ओत लाग्ने घर निर्माण, मठ–मन्दिर तथा बाटो–घाटो सुधारजस्ता सामाजिक सेवामा बोहरा सक्रिय रहँदै आएका छन्। अहिलेसम्म उहाँले तीन करोड रुपैयाँभन्दा बढी रकम सामाजिक विकास र सहायता कार्यमा खर्च गरिसक्नुभएको छ।
वडा नं. ६ का वडा अध्यक्ष खेम रावलले “जनप्रतिनिधिले गर्न नसकेको कार्य समाजसेवी अक्कल बोहराले निरन्तर पूरा गर्दै आउनुभएको छ,” भन्दै प्रशंसा व्यक्त गर्नुभयो। कार्यपालिका सदस्य कृष्ण कुलालले पनि बोहराको सेवाभाव र समर्पणले मुगुबासीको मन जित्न सफल भएको बताउनुभयो।
धर्मशाला उद्घाटनका अवसरमा टेलिफोनमार्फत सम्बोधन गर्दै बोहराले रञ्जन बालैका बालबालिकालाई दुई वर्षसम्म शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीका अनुसार विद्यालय जान साना बालबालिकालाई हिलो–किचलो पार गर्नुपर्ने बाध्यता हटाउन बोहराले विद्यालयसम्म आरसीसी बाटो समेत निर्माण गरिदिएका छन्।
धर्मशाला निर्माणमा साथ र सहयोग पुर्याउने पत्रकार बसन्त बागचन, स्थानीय अगुवा बिर्ख बहादुर भाम, रञ्जन बालैका सम्पूर्ण समुदाय तथा प्रतिवेदन संकलनमा सहयोग पुर्याउने रतन बहादुर रावललाई फाउन्डेसनले विशेष धन्यवाद व्यक्त गरेको छ।
Gen-G आन्दोलनमा जीवन अर्पण गर्ने सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समुदायले यस्ता सामाजिक तथा मानवसेवा कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन्।

