
- मुगुका नगर प्रमुख विष्णु कुमार भामले अन्त्येष्टिमा आफैँ बाजा बजाएर उदाहरणीय कार्य गरेका छन्।
- दलित समुदायले मात्र गर्ने काममा सरिक भएर उनले जातीय विभेद अन्त्यको सन्देश दिएका छन्।
- यस कार्यले सामाजिक सद्भाव कायम राख्न र मानवता नै ठूलो धर्म हो भन्ने सन्देश प्रवाह गरेको छ।
मुगु । कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ४का ६५ वर्षीय साङ्या रोकाया को आफ्नै कालगतिले निधन भएपछि गरिएको अन्त्येष्टि कार्यक्रममा एक फरक र अर्थपूर्ण दृश्य देखिएको छ। मलामीमा सहभागी भएका मुगु छायाँनाथ रारा का नगर प्रमुख विष्णु कुमार भाम स्वयं आफै बाजा बजाउँदै अघि बढेपछि यो विषय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ अहिले चर्चामा छ ।

सामान्यतया दलित समुदायसँग मात्र जोडिने र विशेषगरी उनीहरूले गर्दै आएको बाजा बजाउने यो परम्परामा एक जनप्रतिनिधि स्वयं सहभागी हुनु धेरैका लागि नौलो र सन्देशमूलक बन्यो । स्थानीय परम्परा अनुसार अन्त्येष्टिमा बाजा बजाउने जिम्मेवारी प्रायः दलित समुदायले वहन गर्दै
आएका छन् । तर, यो जिम्मेवारी केवल एक समुदायको मात्र नभएर हामी सबैको साझा हो भन्ने सन्देश दिन नगर प्रमुख विष्णु कुमार भाम आफैँले बाजा बजाएको स्थानीयहरूले बताएका छन् ।
नगर प्रमुखको यस कदमले कार्यक्रममा उपस्थित विभिन्न जातजाति र समुदायबीच भावनात्मक एकता झल्काएको थियो । शोकको वातावरणमा सबैले मिलेर दिवङ्गतप्रति श्रद्धाञ्जली अर्पण गर्दा सामाजिक सद्भावको बलियो उदाहरण प्रस्तुत भएको थियो ।
त्यस अवसरमा नगर प्रमुख भामले दुःखद घडीमा सहकार्य, सहानुभूति र एकता आवश्यक हुने बताउँदै विभेदरहित समाज निर्माणमा सबैले भूमिका खेल्नुपर्ने धारणा राखे । उनले भने, ‘मानवता नै सबैभन्दा ठूलो धर्म हो, यस्तो समयमा हामी सबै एक भएर उभिनुपर्छ र विभेदका पर्खालहरू भत्काउनुपर्छ भन्नुभयो

