
- सर्वोच्च अदालतका लागि चार जना नयाँ न्यायाधीश सिफारिस भएका छन्।
- न्याय परिषदले उच्च अदालतका न्यायाधीशहरूबाट मात्र सिफारिस गरेको हो।
- वरियताक्रम मिचेर सिफारिस गरिएकाले यसको चर्चा र आलोचना भएको छ।
काठमाडौ – सर्वोच्च अदालतमा रिक्त चार जना न्यायाधीश सिफारिस भएका छन्।

मंगलबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरु मध्येबाट न्यायाधीश सिफारिस गरेको हो। परिषद स्रोतका अनुसार कानुन व्यवसायीबाट यसपटक सर्वोच्चमा न्यायाधीश परेनन्।

परिषद्ले उच्च अदालत पोखराका मुख्यन्यायाधीश रत्नबहादुर बागचन्दलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिसमा परेका उनी मात्रै हुन्।
परिषदले अरु तीन जना भने वरियता मिचेर सिफारिस गरेको छ। चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस गरिएको हो।
गत वर्ष परिषदले निकालेको बुलेटिनअनुसार उच्च अदालतका न्यायाधीशमध्ये थारु पाँच नम्बर वरियतामा छन् भने पाण्डे १३ र डाँगी १६ नम्बर वरियताका न्यायाधीश हुन्। यसअघि जिल्लाबाट हिमलाल बेल्बासेलाई चार दिनका लागि मात्रै वरियता मिचेर उच्च अदालतको न्यायाधीश सिफारिस गरिएको थियो।
परिषदले मुख्यन्यायाधीशहरुलाई पन्छाएर वरियताको तल रहेका न्यायाधीशहरुलाई सर्वोच्च ल्याउन सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा उनीहरु प्रधानन्यायाधीशबाट सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन्।
