काठमाडौ – फ्रान्सदेखि नेपालसम्म अहिले सडक आक्रोशले सत्ता हल्लाइरहेको छ। पेरिसमा “ब्लक एभ्रिथिङ” नामक आन्दोलन भड्किँदा नेपालमा “Gen-Z” युवाहरूले नेतृत्व गरेको अभूतपूर्व जनआन्दोलन फैलिएको छ। दुवै मुलुकका प्रदर्शनहरूमा समानता भने एउटै छ– जनताले असमानता, भ्रष्टाचार र नीति-निर्णयको विरोध गर्दै सडक कब्जा गरेका छन्।

फ्रान्समा संसदले प्रधानमन्त्री फ्राँस्वा बेयरोको बजेट प्रस्ताव अस्वीकार गरेपछि उनको सरकार ढल्यो र राष्ट्रपति इमानुएल म्याक्रोनले सेबास्टियन लेकोर्नुलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्नुपर्यो। नयाँ नेतृत्व आउँदासाथै राजधानी पेरिससहित ल्योन, बोर्डो, टुलुज, मार्सेइजस्ता सहरमा हजारौँ मानिस सडकमा उत्रिए। आन्दोलनकारीले सडक, राजमार्ग, रेलमार्ग अवरुद्ध गर्दै बसमा आगजनी गरे। सरकारको austerity बजेटले सामाजिक सुविधा कटौती गर्ने र स्वास्थ्य क्षेत्रमा गम्भीर असर गर्ने भन्दै जनताले विरोध जनाएका हुन्।
करिब एक लाख मानिस सहभागी भएको अनुमान छ भने देशभर ८० हजारभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ। केवल पेरिसमै ६ हजार प्रहरी खटाइएको छ। आन्दोलन सुरुमा दक्षिणपन्थी समूहले उठाएको भए पनि पछि वामपन्थी र अन्य समूहले समर्थन गरेपछि यसले राष्ट्रिय स्वरूप लिएको छ। प्रहरी र आन्दोलनकारीबीच ठूलो भिडन्त हुँदा दुई सयभन्दा बढी पक्राउ परेका छन्। आन्तरिक मन्त्री ब्रुनो रिटैलेउले हिंसा र तोडफोड सह्य नहुने चेतावनी दिएका छन्।
यता नेपालमा भने समाजमाध्यम प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र बेरोजगारीले आक्रोशित युवा पुस्ता सडकमा उत्रिएको छ। ८ सेप्टेम्बरदेखि सुरु भएको Gen-Z आन्दोलनले छोटो समयमै अभूतपूर्व रूप लियो। संसद भवन, सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवाससम्म आक्रमण र आगजनी भएको छ। प्रहरी र सेनाले गोली चलाउँदा हालसम्म झन्डै दुई दर्जनभन्दा बढी प्रदर्शनकारीले ज्यान गुमाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन चर्किएपछि पदत्याग गर्नुपर्यो। सरकारले कर्फ्यू जारी गर्दै सेना परिचालन गरेको छ। अन्तर्राष्ट्रिय समुदायले घटनाक्रमलाई चासोपूर्वक हेरिरहेको छ भने विभिन्न देशका पर्यटकहरू नेपालमा अल्झिएका छन्।
फ्रान्स र नेपालबीचको भूगोल फरक भए पनि असन्तोषको मूल जड भने एउटै देखिन्छ– जनताले आफूलाई थिच्ने निर्णय स्वीकार गर्न नचाहनु। फ्रान्समा बजेट कटौती, नेपालमा समाजमाध्यम प्रतिबन्ध र भ्रष्टाचार, दुवै प्रकरणले युवालाई आन्दोलनमा धकेलेको छ। दुई मुलुकमा समान रूपले सडकमा आगजनी, प्रहरी-प्रदर्शनकारी भिडन्त, हजारौँको सहभागिता र सरकारविरुद्धको आक्रोश देखिएको छ।
यसो हेर्दा “नेपाल र फ्रान्सका आन्दोलन फरक कारणले सुरु भए पनि परिणाम एउटै हो– जनआवाजलाई बेवास्ता गर्दा सत्ताले ठूलो संकट भोग्नुपर्छ।” अहिले यी दुई मुलुकमा भइरहेको प्रदर्शनले दुनियाँलाई फेरि सम्झाएको छ कि युवाहरूको आक्रोशलाई रोक्न सकिने छैन, र जनता जब सडकमा उत्रिन्छन्, तब सबैभन्दा शक्तिशाली सरकार पनि हल्लिन सक्छ।
