रबिन्द्र यादव १७ पुस -नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिका–१२ कजडैया स्थित एक टायल फ्याक्ट्रीमा ड्युटीमा खटिएका दुई मजदुर मृत अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार पुस १६ गते साँझ अन्दाजी ८ बजेदेखि ड्युटीमा रहेका उनीहरू १७ गते बिहान फ्याक्ट्रीको पोलिसिङ फ्लोरमा गत्ता ओछ्याएर सुते कै अवस्थामा मृत फेला परेका हुन् । घटनाबारे कम्पनीका म्यानेजर रमेश न्यौपानेले बिहान करिब ९:२० बजे अस्थायी प्रहरी पोष्ट भटौलियामा जानकारी गराएका थिए ।
सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भटौलिया, इलाका प्रहरी कार्यालय सेमरी तथा बर्दघाटबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रारम्भिक जाँचमा मृतकको शरीरमा बाहिरी चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
मृतकको पहिचान बर्दघाट नगरपालिका–१३ धनेवाका करिब ४० वर्षीय होम बहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका करिब ३० वर्षीय विनोद कुमारको रूपमा खुलेको छ । दुवै मृतकका आफन्तलाई खबर गरिसकिएको प्रहरीले जानकारी दिएको छ ।
घटनापछि बिहान करिब १०:३० बजे ठूलो संख्यामा स्थानीय बासिन्दा घटनास्थलमा भेला भई कम्पनी भित्र प्रवेश गर्न खोज्दा केही समय तनावको अवस्था सिर्जना भएको थियो । प्रहरीले थप सुरक्षा व्यवस्था गर्दै स्थानीयसँग समझदारी गराएर स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।घटनाले औद्योगिक क्षेत्रमा मजदुरको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ । प्रहरीले घटनाको सूक्ष्म अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।
