काठमाडौं — प्रहरीले पछिल्लो समय गत भदौ २४ गते सिंहदरबारसहित सरकारी तथा निजी सम्पत्तिमा भएको आगजनी र लुटपाट घटनामा संलग्न व्यक्तिहरूमाथि पक्राउ अभियान तीव्र बनाएको छ। भदौ २३ र २४ गतेका घटनाको छानबिनका लागि गठित आयोगले आगजनी र लुटपाटमा संलग्नहरुलाई फौजदारी अपराध अन्तर्गत कारबाही गर्न निर्देशन दिएपछि प्रहरीले देशभर पक्राउ अभियान सञ्चालन गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश व्यक्तिहरूको पृष्ठभूमि आपराधिक रहेको छ। भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान जारी राखेको छ भने २४ गते सरकारी र निजी संरचनामा आगजनी गर्ने र प्रहरीको हतियार लुट्नेहरूविरुद्धको फौजदारी अनुसन्धान नेपाल प्रहरीले अगाडि बढाइरहेको छ।
२४ गतेको घटना २३ गते सरकारी पक्षबाट भएको ज्यादतीको प्रतिक्रियास्वरूप स्वतःस्फूर्त भिडले गरेको थियो वा योजनाबद्ध रूपमा गरिएको थियो भन्ने प्रश्नमा पनि अहिले आयोगले स्पष्ट निष्कर्ष तर्फ अघि बढिरहेको छ। आयोगले उक्त घटना पूर्ण रूपमा आपराधिक भएको ठहर गर्दै सबैलाई फौजदारी कसुर अन्तर्गत कारबाही गर्नुपर्ने निष्कर्ष निकालेपछि प्रहरीले कडाइका साथ अभियान चलाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंले विशेष अपरेसन सञ्चालन गरिरहेको छ। प्रहरी अनुसन्धानअनुसार भदौ २४ गतेका घटनामा हत्या, सुरक्षाकर्मीको हतियार लुटपाट, आगजनी, तोडफोड तथा चोरी गरी पाँच प्रकारका आपराधिक गतिविधि नियोजित रूपमा भएका थिए।
अहिलेसम्म काठमाडौं प्रहरीले मात्रै ४ महिलासहित १ सय १६ जनालाई पक्राउ गरेको छ। तीमध्ये हत्यामा संलग्न १० जना, हतियार लुट्ने २१ जना, आगजनीमा ७२ जना र चोरीमा संलग्न २ जना रहेका छन्। केही व्यक्तिहरूलाई हाजिरी जमानीमा छोडेर पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार पक्राउ परेकामध्ये धेरैजसोले आगजनी, हतियार लुटपाट र चोरीजस्ता गतिविधिमा दोहोरो भूमिका खेलेका छन्। उनका अनुसार अधिकांशको आपराधिक पृष्ठभूमि रहेको र उनीहरू अघिल्ला हत्या, चोरी र लुटपाटका घटनामा समेत संलग्न भइसकेका थिए।
नेपाल खोज खबरलाई प्राप्त जानकारी अनुसार अनुसन्धानले देखाएको छ कि जघन्य अपराधमा २५ वर्षभन्दा कम उमेरका किशोर–युवाहरू बढी संलग्न थिए। १५ देखि २४ वर्ष उमेर समूहका ५६ जना पक्राउ परेका छन्, जसमा ८ जना हत्यामा र १७ जना हतियार लुटपाटमा संलग्न थिए। त्यसैगरी २५ देखि ३४ वर्ष उमेर समूहका ४१ जना र ३४ वर्षभन्दा माथिका १९ जना पक्राउ परेका छन्। १८ वर्षभन्दा कम उमेरका ४ जना बालबालिका पनि आगजनी र लुटपाटमा संलग्न रहेको अनुसन्धानले देखाएको छ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार अपराधमा संलग्न सबैलाई कानूनी दायरामा ल्याउने तयारी पूरा भइसकेको छ। उता, उच्चस्तरीय आयोगले पनि आफ्नो अनुसन्धान जारी राख्दै सरकारी पक्षबाट भएको बल प्रयोग र आगजनीमा कसरी समूह परिचालन गरिएको थियो भन्ने विषयमा प्रतिवेदन तयार गर्दैछ।
आयोगले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ। सुरक्षित निर्वाचन र नागरिकको सुरक्षाका लागि केवल अपराधीलाई मात्र होइन, उनीहरूलाई परिचालन गर्ने नेतृत्वसम्म पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
