काठमाडौं । पोखराबाट स्रोत नखुलेको लाखौं नेपाली र विदेशी रुपैयाँसहित तीन जना पक्राउ परेका छन्। कास्की प्रहरीले शनिबार साँझ ५ बजे पोखरा महानगरपालिका–१० बिरौटाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

शंकास्पद रूपमा विदेशी मुद्रा सटही भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेष्टुरेन्ट सञ्चालक ४५ वर्षीय महुमुद्दिन एम अहमद, झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी र पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेललाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार महुमुद्दिन रुपन्देही र पोखरामा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका व्यक्ति हुन् भने उनी अवैध रूपमा विदेशी मुद्रा सटही गर्ने कारोबारमा संलग्न रहेको बताइएको छ।
त्यस्तै, बुढाथोकी पोखरा–६ बैदामस्थित ‘हिलारी मनी चेन्जर’का सञ्चालक हुन्। उनले विगत २० वर्षदेखि लेकसाइड क्षेत्रमा मनी चेन्जर सञ्चालन गर्दै आएका थिए। पौडेल भने ‘सगरमाथा मनी चेन्जर’का सञ्चालक हुन् र उनले विगत १४ वर्षदेखि मनी एक्सचेन्जको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।
कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाका अनुसार उनीहरूको साथबाट ४३ लाख ७३ हजार ७ सय रुपैयाँ नेपाली, १९ हजार ६ सय अमेरिकी डलर र ३ हजार २ सय युरो फेला परेको छ। हालको विनिमय दरअनुसार कुल बरामद रकम करिब ७५ लाख ९६ हजार ९ सय रुपैयाँ रहेको छ।
तीनै जनालाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम विदेशी मुद्रा सटहीको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रहरीले घटनाको विस्तृत जानकारी सार्वजनिक गरेको हो।
