राजेश भिन्वार यादव सिराहा — समाजमा जनावरमाथि भइरहेका अत्याचार र बेवास्ताप्रति ध्यानाकर्षण गर्न पशु प्राविधिक विद्यार्थी राजेश भिन्वार यादवले भावनात्मक र चेतनापूर्ण कवितामार्फत जनचेतना फैलाउने प्रयास गरेका छन्। “निमुखा प्राणीको शब्द” शीर्षकको यो सिर्जनामा उनले जनावरको दृष्टिकोणबाट मानव समाजलाई प्रश्न गरेका छन् — के साँच्चै हामी मानव हौं, जब कमजोर र बेसहारा जीवमाथि अत्याचार गर्न रमाउँछौं?

कवितामा उनले लेखेका छन् ।
यदि भुसिया कुकुर हुनु मेरो दोष हो भने,
त्यसको जिम्मेवार पनि ती भगवान नै हुन्
जसले कसैलाई एसी भएको कारमा घुम्ने,
र कसैलाई चर्को घाममा आश्रयसमेत नपाउने बनाए।
भुसिया कुकुर हुनुमा मेरो के दोष,
जबकि तिमीलाई बनाउने दैवले मलाई पनि बनाएका हुन्।
तिमी भन्छौ — “म यो धर्तिको सर्वश्रेष्ठ प्राणी।”
अनि किन गर्छौ अत्याचार त्यो निमुखा प्राणीमाथि,
जसलाई भगवानले आफ्ना दु:ख व्याख्या गर्ने आवाजसमेत दिएका छैनन्?
जसलाई खाने, बस्ने देखि लिएर बिरामी पर्दा उपचारको पनि ठेगान छैन,
त्यो प्राणीमाथि किन पोख्छौ आफ्ना रिस र घृणा?
कमजोर देखेपछि लखेटेर ढुंगा हान्छौ —
के यही हो तिम्रो मानवता र सर्वश्रेष्ठता?
यदि यही हो भने —
धिकार छ तिम्रो मानवता र सर्वश्रेष्ठतामाथि,
जसले कमजोर, बेसहारा र लाचार जनावरमाथि
आफ्नो बलको प्रदर्शन गर्छ।
हो, म तिम्रो घरबाट निस्केको फोहर खान्छु,
फोहर वातावरणमा रमाउँछु, म फोहरी छु।
तर यसमा मेरो के दोष?
जबकि भगवानले नै मलाई यस्तो बनाएका हुन्।
केही गुनासो गर्नुछ भने —
त्यो दैवसँग गर, जसले तिमीलाई त्यस्तो र मलाई यस्तो बनायो।
यदि तिमीलाई निमुखा, कमजोर, बेसहारा तथा लाचारमाथि
दयाको भाव देखाउने आट छैन भने,
क्रूरता देखाउने र अत्याचार गर्ने पनि
तिमीलाई कुनै अधिकार छैन।
जाबो तिमी त मानव भएर पनि
मानवको दु:ख र मनोभावना बुझ्न सकेको छैनौ,
त्यसो हुँदा हाम्रो पीडा बुझ्छौ भन्ने सोच्नु पनि पाप जस्तो लाग्छ।
अन्ततः —
कसैलाई सहयोग र समान व्यवहार गर्न सक्दैनौ भने,
बेइज्जत गर्नु र त्यसमाथि अत्याचार गर्नु पनि
तिम्रो कुनै अधिकार होइन।
“मानवता हराएको समाजमा
जनावरप्रतिको राम्रो दृष्टिकोण खोज्नु
रेगिस्तानमा सुई खोज्नु बराबर हो।”
सबै प्राणीको सम्मान गरौं — सेवा नै धर्म हो।
शब्द: राजेश भिन्वार यादव
(पशु प्राविधिक तथा पशु चिकित्सा शास्त्रका विद्यार्थी, मिर्चैया–१२, सिक्रोन, सिराहा)
