काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र देखा परेका विवाद र अन्योललाई केन्द्रीय समितिमार्फतै समाधान गर्नुपर्ने बताएका छन्।

आइतवार पत्रकार भेटघाटमा उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियानबारे चर्चा भइरहे पनि त्यसले कार्यकर्तामाझ भ्रम मात्र फैलाएको बताए। उनले भने, “अहिले हामी अफ्ठ्यारो स्थितिमा छौं। तर एकजुट भएर केन्द्रीय समितिमार्फत सम्पूर्ण विषयमा छलफल गरी सामूहिक निष्कर्ष निकाल्नेछौँ। यही प्रक्रियाले पार्टी पंक्तिमा उत्साह पनि जगाउनेछ।”
महतका अनुसार अधिवेशन प्रक्रियालाई समेत चाँडोभन्दा चाँडो केन्द्रीय समितिबाटै अघि बढाइनेछ।
उनले देउवाको बचाउ समेत गरेका छ्न प्रवक्ता महतले पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गरी भइरहेको प्रचारप्रति आपत्ति जनाए। उनले देउवा लोकतान्त्रिक आन्दोलनमा निरन्तर लड्दै आएको व्यक्ति भएको र अपराधी नभएको स्पष्ट पारे।
उनका भनाइमा, “पासपोर्ट बनाउनु हरेक नेपालीको हक हो। त्यसलाई अपराध ठहर्याउने प्रयास गरियो। देउवा भाग्ने मानसिकता बोकेको नेता होइन। शाही कालदेखि हालसम्म अनेकौँ लाञ्छना खेप्दा पनि उनले आन्दोलन छाडेनन्।”
महतले देउवामाथि साङ्घातिक आक्रमणको खतरा देखिँदा पनि घर नछोडेको उदाहरण दिँदै, देश छोडेर भाग्ने आशंका निराधार भएको बताए।
प्रवक्ता महतले पार्टीलाई कमजोर बनाउने नियतले ‘पुराना नेताहरूलाई चुनावमा लड्न दिन्नौं’ भन्ने धारणा फैलाइएको आरोप लगाए। उनले प्रश्न उठाए, “जनताले नेता रोज्ने अधिकारलाई रोक्ने तपाईंहरू को ?”
उनले कांग्रेसभित्र देखिएका असन्तुष्टिहरूलाई छलफल र प्रक्रियामार्फत मिलाउन सकिने विश्वास व्यक्त गरे।
