काठमाडौं । गृहमन्त्री तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीलाई पनि मतदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारले प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा मन्त्री अर्यालले सर्वोच्च अदालतले धेरै वर्षअघि नै दिएको आदेशलाई यसपालि सम्भव बनाउन आफू लाग्ने बताएका हुन्।
उनले भने, “विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनुपर्ने माग अहिले धेरै ठूलो अपेक्षा बनेको छ। सर्वोच्च अदालतले समेत यस विषयमा आदेश दिइसकेको धेरै वर्ष भइसकेको छ। अब यसलाई सम्भव बनाउनैपर्छ। प्राविधिक कठिनाइ भएपनि जहाँबाट सकिन्छ, यो व्यवस्था लागू गर्नु आवश्यक छ।”
अर्यालका अनुसार समानुपातिक निर्वाचन प्रणालीमार्फत भए पनि मतदानको व्यवस्था मिलाउनु अहिले समयको माग हो। उनले यसलाई कार्यान्वयन गर्न प्राविधिक चुनौती भए पनि सरकारले निर्वाचन आयोगसँग सहकार्यमा जाने स्पष्ट पारे।
गृहमन्त्रीले आगामी निर्वाचनलाई अझ समावेशी र सहभागीमूलक बनाउन सबै वर्ग, समुदाय र विदेशमा रहेका नागरिकलाई समेत समेट्नु अपरिहार्य भएको बताए।
तर, यो प्रक्रिया नेपालमा कार्यान्वयन हुन सक्ने वा नसक्ने भन्ने विषयमा अहिले निश्चित रूपमा भन्न सकिने अवस्था नरहेको पनि देखिन्छ। धेरै विकसित देशहरूमा समेत पूर्ण रूपमा विदेशबाट मतदान प्रणाली लागू हुन सकेको छैन। नेपालमा भने यस विषयमा सरकार र आयोगले गर्ने पहलले कस्तो परिणाम ल्याउँछ भन्ने आगामी समयले नै देखाउनेछ।
