
- पूर्व-पश्चिम राजमार्गको कञ्चनपुर-कमला सडकखण्डको स्तरोन्नति कार्यले तीव्रता पाएको छ।
- निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पुगेको र काम सक्न डिसेम्बरसम्म म्याद थपिएको छ।
- एशियाली विकास बैंकको ऋण सहयोगमा बजारमा ६ र अन्य क्षेत्रमा ४ लेनको सडक बन्दैछ।
पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)अन्तर्गत कञ्चनपुर-कमला सडकखण्डको स्तरोन्नति कार्यले गति लिएको छ । आयोजनाअन्तर्गत सप्तरीको माहुली क्षेत्रमा हाल धमाधम कालोपत्रे पिच गर्ने कार्य भइरहेको छ ।

चिनियाँ निर्माण कम्पनी ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड’ ले निर्माण गरिरहेको यस सडकको हालसम्मको कुल भौतिक प्रगति ७२ देखि ७५ प्रतिशत पुगेको छ । वि.सं. २०७७ कात्तिक १३ गतेदेखि निर्माण शुरु गरिएको यस आयोजनाको काम लक्ष्यअनुसार सम्पन्न हुन नसकेपछि आगामी डिसेम्बर अन्तिमसम्मका लागि चौथो पटक म्याद थप गरिएको छ ।
सडक विभाग, आयोजना निर्देशनालयअन्तर्गत कार्यान्वयनमा रहेको यो योजना थपिएको म्यादभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तिब्रता दिइएको छ ।
कुल ८६.७३ किलोमिटर लम्बाइ रहेको यस सडकलाई कञ्चनपुर-कमला सडक योजनाअन्तर्गत पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरेर निर्माण अघि बढाइएको छ । जसमध्ये पूर्वी खण्डअन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कुशाहासम्मको ३९.४२ किलोमिटर सडक ७ अर्ब ४७ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको छ ।
त्यसैगरी, सप्तरीको कुशाहादेखि सिराहाको कमला पुलसम्म पर्ने ४७.२१ किलोमिटर लामो पश्चिमी खण्डको कुल लागत ८ अर्ब ८० करोड ७० लाख १८ हजार रुपैयाँ रहेको छ । एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा स्तरोन्नति भइरहेको यो राजमार्ग बजार क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनको हुनेगरी निर्माण भइरहेको छ ।
