अर्जुन थापा नयाँदिल्ली–‘लगानी र पर्यटनको नयाँ ढोका खोल्दै’ इन्डो–नेपाल ट्रेड फेस्टिभल भव्य रूपमा सम्पन्न, नयाँदिल्ली मा नेपाल गुञ्जियो नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई आर्थिक सहकार्य र साझा समृद्धिको आधारमा थप मजबुत बनाउने उद्देश्यसहित भारतको राजधानी नयाँदिल्लीमा आयोजित इन्डो–नेपाल ट्रेड फेस्टिभलको दोस्रो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको महोत्सवले लगानी, व्यापार, पर्यटन र सांस्कृतिक आदान–प्रदानका विविध आयामलाई एकै थलोमा समेट्दै नेपाल–भारत सम्बन्धलाई व्यवहारिक उचाइमा पुर्याउने प्रयास गरेको आयोजकहरूले बताएका छन्।

हौजखासस्थित पीएचडी भवनमा आयोजित महोत्सवमा सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी, लगानीकर्ता, प्रवासी नेपाली र सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको थियो। जलविद्युत्, सीमापार व्यापार, डिजिटल अर्थतन्त्र, स्टार्टअप, पर्यटन प्रवर्द्धन र लगानी सम्भावनासम्बन्धी एक दर्जनभन्दा बढी सत्रमा नीति र व्यवहार दुबै पक्षमा गहन छलफल गरिएको थियो।
उद्घाटन सत्रमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपाल–भारत सम्बन्ध केवल कूटनीतिक औपचारिकतामा सीमित नरहेको उल्लेख गर्दै जनस्तरको आत्मीयता नै दुवै देशको सबैभन्दा ठूलो शक्ति भएको बताए। खुला सिमाना, सहज आवतजावत, साझा संस्कृति र धार्मिक सम्बन्धले दुई देशलाई भावनात्मक रूपमा जोडेको उल्लेख गर्दै उनले अब यही आधारलाई आर्थिक अवसरमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए। नेपालका धार्मिक, प्राकृतिक र ऐतिहासिक गन्तव्यहरूलाई भारतीय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सके पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको उनको भनाइ थियो।
भारत सरकारका प्रतिनिधिहरूले समेत नेपालसँगको सहकार्यलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे। स्टार्टअप साझेदारी, कनेक्टिभिटी विस्तार, डिजिटल भुक्तानी प्रणाली र जलविद्युत् क्षेत्रमा संयुक्त परियोजनाहरू अघि बढिरहेको जानकारी दिँदै आगामी दिनमा थप सहकार्य विस्तार हुने प्रतिबद्धता जनाइएको थियो। नेपाली युवा उद्यमीहरूलाई भारतका प्राविधिक संस्थानमा तालिम तथा लगानीका अवसर उपलब्ध गराइनु सकारात्मक सुरुआतका रूपमा हेरिएको छ।
निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्र ढकालले नेपालमा होटल, केबलकार, धार्मिक पर्यटन र पूर्वाधार विकासमा संयुक्त लगानीका ठोस सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानीकर्तालाई प्रत्यक्ष लगानीका लागि आह्वान गरेका थिए । प्रवासी नेपालीलाई पनि स्वदेश फर्केर उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरिएको थियो।
महोत्सवका मुख्य आयोजक एभरेष्ट चेम्बर अफ कमर्स ले व्यापारसँगै कला, संस्कृति र चलचित्रमार्फत जनस्तरको सम्बन्ध बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। नेपाली हस्तकला, खाद्य परिकार, पर्यटन प्याकेज र सेवा क्षेत्रका सामग्री राखिएका ७०/६०भन्दा बढी स्टलहरूमा दर्शकहरूको बाक्लो भीड भाड लागेको थियो।
कार्यक्रमको सांस्कृतिक पक्ष पनि उत्तिकै आकर्षक बन्यो। नेपाली संगीत, नृत्य, परम्परागत प्रस्तुति तथा चलचित्र प्रदर्शनले भारतीय दर्शकलाई नेपालप्रति अझ नजिक ल्याएको सहभागीहरूको भनाइ छ। नेपाली चलचित्र ‘गोर्खा वारियर’ को विशेष प्रदर्शन नेपाली चर्चित गायक श्याम राना, गोबिन्द पौडेल बाल कलाकार सृष्टि अधिकारी र स्थानीय धेरै कलाकार हरु लगायतको सहभागिताले ‘सिनेमाको माध्यमबाट नेपाल–भारत सम्बन्ध’ विषयक छलफलले सांस्कृतिक कूटनीतिलाई थप अर्थपूर्ण बनाएको थियो।
आयोजकका अनुसार तीन दिनको अवधिमा २५ हजारभन्दा बढी अवलोकनकर्ता महोत्सवमा सहभागी भएका छन्। गत वर्ष भारतस्थित नेपाली दूतावास परिसरमा सम्पन्न पहिलो संस्करणको सफलतापछि यसपटक कार्यक्रम अझ व्यापक र व्यवस्थित रूपमा विस्तार गरिएको थियो।
समापन सत्रमा वक्ताहरूले यस्ता कार्यक्रमले नेपाल भारतबीचको दूरी घटाउँदै व्यापार, पर्यटन, लगानी र जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन दीर्घकालीन पुलको काम गर्ने विश्वास व्यक्त गरे। समग्रमा, इन्डो–नेपाल ट्रेड फेस्टिभलले ‘रोटी–बेटी’ को ऐतिहासिक सम्बन्धलाई अब ‘लगानी र साझा समृद्धि’ को नयाँ अध्यायमा रूपान्तरण गर्ने सन्देश दिएको निष्कर्ष निकालिएको छ।



