विराटनगर : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिले सक्रिय राजनीतिमा फर्कन संविधानले कुनै रोकटोक नगरेको स्पष्ट पारेका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियतालाई अस्वाभाविक ठान्न नहुने बताए। देउवाले भने, “संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन। त्यसैले संविधानको औचित्य सकिएको भन्ने प्रश्न नै उठ्दैन।”
नेकपा (एमाले) मा फर्किएकी भण्डारीको सदस्यता भने पार्टीले नवीकरण नगर्ने निर्णय गरिसकेको छ। त्यस्तै, पूर्वउपराष्ट्रपति पुन नेकपा (माओवादी केन्द्र) मा सक्रिय भइसकेका छन्।
संविधान संशोधनबारे पत्रकारले उठाएको प्रश्नमा देउवाले दुईतिहाइ बहुमत जुटेपछि मात्र प्रक्रिया अघि बढ्ने बताएका छन्। उनले दलहरुसँग छलफल भइरहेको भए पनि तत्काल कुनै ठोस निष्कर्षमा नपुगिएको प्रष्ट पारे।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट कांग्रेसले मन्त्री फिर्ता बोलाउने वा नयाँ मन्त्री पठाउने विषयमा पनि कुनै छलफल नभएको देउवाले स्पष्ट पारे। “मन्त्री फिर्ता बोलाउने कुरा भएको छैन। तपाईंहरुलाई कसरी थाहा भयो ? मलाई त थाहा छैन,” उनले पत्रकारलाई जवाफ दिए।
