अर्घाखाँची। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार पाणिनी गाउँपालिका लुम्बिनी प्रदेशभित्रका १०९ पालिकामध्ये सबैभन्दा कम बेरुजु (०.११ प्रतिशत) भएको पालिका बनेको छ। सुशासन, पारदर्शिता, जिम्मेवारी र दक्ष प्रशासनको अभ्यासले पाणिनीलाई आर्थिक अनुशासनको दृष्टिकोणबाट प्रदेशमै अग्रणी बनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले भन्नुभयो, “हामीले सरकारी रकमलाई व्यक्तिगत स्वार्थ वा दबाबअनुसार होइन, कानुनी प्रक्रिया र मापदण्डअनुसार मात्रै खर्च गर्ने कार्यप्रणाली अपनाएका छौं। यही अभ्यासले हामीलाई प्रदेशमै उदाहरणीय बनाएको हो।”
उहाँले भन्नुभयो, “हाम्रो पालिकामा कुनै पनि योजना सुरु गर्नु पूर्व आवश्यक प्रक्रिया पूरा गरिन्छ। योजनाको छनोटदेखि प्रस्ताव, सम्झौता, मूल्यांकन, भुक्तानी र अन्तिम लेखासम्म सबै चरण पारदर्शी र दस्तावेजगत छन्। हामी प्रक्रिया पूरा नभएसम्म कुनै पनि रकम खर्च गदैनौं।”
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार पालिकाको आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउने, अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने, प्राविधिकहरूको जिम्मेवारी तोक्ने, योजना समिति र उपभोक्ता समितिहरूलाई तालिममार्फत सचेत बनाउने कार्यहरू नियमित रूपमा सञ्चालन गरिँदै आएका छन्। उहाँले भन्नुभयो, “हामी केवल कागजमा होइन, कार्यान्वयनमा सुधार खोज्छौं। त्यसैले बेरुजु घटेको हो।”
उहाँले थप जानकारी दिँदै भन्नुभयो, “हामीले प्रत्येक योजनाको सुरुवातमा नै उपभोक्तासँग स्पष्ट मापदण्ड राख्ने, सामाग्रीको गुणस्तर जाँच गर्ने, अनुगमन टोली गठन गर्ने, र आवश्यक भए पुनः परीक्षणसमेत गराउने अभ्यास थाल्यौं। यसले निर्माण व्यवसायीहरूमा पनि जवाफदेहिताको भावना सिर्जना भएको छ।”
यस उपलब्धिको श्रेय सबैलाई बाँड्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, “पालिका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा गौतम पौडेल, सबै वडा अध्यक्षहरू, वडा सदस्यहरू, कर्मचारी, उपभोक्ता समिति र स्थानीयवासीको सहकार्य र विश्वासबिना यो सम्भव थिएन। सबैले आ-आफ्नो भूमिकामा इमान्दारीपूर्वक काम गरे।”
उहाँले पालिकाको कार्यालयभित्र ‘लेखा शाखा केवल बिल पास गर्ने ठाउँ होइन, नियम पालना गराउने प्रमुख संयन्त्र हो’ भन्ने मान्यता स्थापित गरिएको बताउनुभयो। त्यही मान्यता अनुरूप लेखा शाखा, योजना शाखा, प्राविधिक शाखा र प्रशासनबीच नियमित समन्वय बैठक, कार्य मूल्यांकन र रेकर्ड अपडेट गरिने गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले स्पष्ट गर्नुभयो, “अबको हाम्रो लक्ष्य शून्य बेरुजुतर्फको यात्रा हो। त्यसका लागि हामीले अझ गम्भीरता, सतर्कता र प्रतिवद्धताका साथ काम अघि बढाउनेछौं।”
पाणिनी गाउँपालिका अर्घाखाँची जिल्लाको एक अग्रणी स्थानीय तह हो, जहाँ आठवटा वडाहरू, विभिन्न सरकारी तथा सामुदायिक संस्था, उपभोक्ता समिति, सहकारी संस्था, सामाजिक संघ-संस्था, र सक्रिय नागरिक समाजको सहकार्यमा विकास र सुशासनलाई संस्थागत गरिँदै आएको छ। आर्थिक पारदर्शिताका साथै सामाजिक उत्तरदायित्व र जनमुखी सेवा प्रवाहमा पनि पाणिनीले उदाहरणीय अभ्यास गर्दै आएको छ।
महालेखा परीक्षकको प्रतिवेदनले दिएको यो मान्यता सिर्जनात्मक र उत्तरदायी स्थानीय शासनको मार्गचित्र बनेको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको विश्वास छ।

