नयाँ दिल्ली, – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता बुधबार आफ्नै सरकारी आवास सिविल लाइन्समा भइरहेको साप्ताहिक जनसुनुवाइ कार्यक्रममा शारीरिक हमलाको शिकार भएकी छन्। बिहान सर्वसाधारणको उजुरी सुन्ने क्रममा एक व्यक्तिले हात समात्दै तान्ने, कपाल समात्ने प्रयास गर्ने र थप्पड प्रहार गर्ने घटनापछि मुख्यमन्त्रीको टाउको टेबलमा ठोक्किँदा हल्का चोट समेत लागेको प्रहरीले जनाएको छ।

राजकोट, गुजरातका ४१ वर्षीय राजेश सकरिया नाम गरेका उक्त व्यक्तिले सुरुवातीमा उजुरी दिने शैलीमा मुख्यमन्त्रीसमक्ष पुगेका थिए। उनले केही कागजात बुझाएपछि आकस्मिक रूपमा आक्रमणको प्रयास गरेका थिए। घटनापछि केही क्षण जनसुनुवाइ स्थल अराजक बने पनि सुरक्षा गार्डले तुरुन्त नियन्त्रणमा लिएर उनलाई पक्राउ गरेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानमा आरोपी आफ्नो जेलमा रहेका नातेदारलाई छुटाइदिन मद्दत माग्न आएको दाबी गरेको जनाएको छ, तर यस घटनामा अन्य बिसयमा समेत खोजिने बताइएको छ।
हमलापछि मुख्यमन्त्री गुप्तालाई तत्काल नजिकैको अस्पतालमा पुर्याइएको थियो। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चोटपटक गम्भीर नभएको बताएका छन्। आवश्यक परीक्षणपछि उनलाई घरमै आराम गर्न पठाइएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।
यस घटनाले दिल्लीको राजनीतिमा एउता व्यापक प्रतिक्रिया ल्याएको छ। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले यसलाई लोकतान्त्रिक प्रक्रियामाथिको आक्रमण भन्दै कडा शब्दमा निन्दा गरिरहेका छ्न । दिल्ली भाजपा अध्यक्षले मुख्यमन्त्रीकै निवासमा यस्तो सुरक्षा त्रुटि हुनु गम्भीर लापरबाही भएको टिप्पणी गर्दै दोषीमाथि कानूनी कारबाही गर्न माग गरेका छन्। सोही क्रममा विपक्षी दल आम आदमी पार्टी (आप) की नेतृ आतिशीले पनि हिंसाको मार्ग अस्वीकार्य भएको बताउँदै लोकतन्त्रमा असहमतिको ठाउँ भए पनि हिंसाको स्थान नभएको प्रतिक्रिया दिएकी छन्। कांग्रेस नेताहरूले भने राजधानीमै निर्वाचित मुख्यमन्त्री सुरक्षित नरहेको अवस्थामा साधारण नागरिकको सुरक्षा कस्तो होला भन्ने प्रश्न उठाएका छन्।
मुख्यमन्त्री निवासभित्रै भएको यस घटनाले राजधानी दिल्लीमा उच्चपदस्थ जनप्रतिनिधि र सार्वजनिक पदाधिकारीहरूको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा भएको छ। जनसुनुवाइ जस्ता कार्यक्रममा नागरिकलाई सहज पहुँच दिनुपर्ने आवश्यकता रहँदै आएको भए पनि त्यसैलाई आधार बनाएर आक्रमण हुने जोखिम बढेको भन्दै सुरक्षालाई अझ कडा बनाउनुपर्ने आवाज विभिन्न क्षेत्रबाट राजनीति दल बाट उठ्न थालेका छन्। यसो त यो पोहिलो घटना हैन यो भन्दा पोहिला पनि पुर्व मुख्यमन्त्री अरबिन्द केजरिबाल लाई पनि रोड सो गर्दा एक दुई पल्ट सम्म हमला भएको थियो ।
