नारायण प्रसाद गैरे अर्घाखाँची – भालुवाङ-गच्छे सडकमार्ग नजिकैको प्राकृतिक र धार्मिक गन्तव्य: मृगस्थली, छहराखोला झरना र पाथिभरा मन्दिर रोल्पा र पूर्वी रुकुम जोड्ने ऐतिहासिक भालुवाङ–गच्छे सडक खण्डअन्तर्गतको साबिक ढिकुरा गा.वि.स–५ डेभा र धनचौर गा.वि.स–२ खरेयानाको संगमस्थलमा अवस्थित मृगस्थली झरना (स्थानीय भाषामा छहराखोला वा छरछरे खोला) प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्य हो।

हाल भुमिकास्थान नगरपालिका–९ अन्तर्गत पर्ने यो झरना आसपासका बासिन्दाका लागि मात्र नभई अन्यत्रबाट आउने पर्यटकहरूका लागि समेत ध्यान खिच्ने केन्द्र बनेको छ। पानी चट्टानबाट झरेर धुवाँसर जस्तै दृश्य सिर्जना गर्ने यो झरनालाई हेर्दा नै आध्यात्मिक शान्तिको अनुभूति हुने स्थान् हो ।
उक्त स्थानको ऐतिहासिक र धार्मिक महत्त्व बुजौ झरना नजिकैको सेङलेङ (भुमिकास्थान–१०) मा अवस्थित पाथिभरा मन्दिर थप आकर्षणको केन्द्र हो। धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यस स्थानमा वर्षेनी भक्तजनहरूको भीड लाग्ने गरेको पाइन्छ। झरनाको आसपासको क्षेत्रलाई मृगहरूको बासस्थान (मृगस्थली) का रूपमा चिनिन थालेको ऐतिहासिक चर्चा पनि स्थानीयबासीको मुखमार्फत सुन्न सकिन्छ। यसलाई अहिले स्थानीय भाषामा छहारेखोला, छरछरे खोलाले पनि चिनिने गरेको छ ।
यहाँ पुगे पोछि प्रकृतिसँग रमाउने अवसर छ हरियो वनजंगल, चट्टानी भू-आकृति र शीतल पानीले यो स्थानलाई गर्मी याममा विशेष आकर्षक बनाएको छ। विशेष गरी वर्षायाममा झरना पूर्णरूपमा सक्रिय हुँदा यहाँको दृश्य झन् मनमोहक देखिन्छ।
गच्छे-भालुवाङ सडक प्रयोग गरेर सिधै झरनासम्म पुग्न सकिन्छ। पछिल्ला वर्षहरूमा स्थानीय निकायले बाटोको सुधार, झरनाको संरक्षण तथा मन्दिर क्षेत्रमा सरसफाइजस्ता कार्यमा चासो देखाएको पाइन्छ।
एकपटक जानैपर्ने स्थल धार्मिक आस्था, ऐतिहासिक पृष्ठभूमि र प्राकृतिक सुन्दरता तीनवटैको संगम भएको मृगस्थली झरना क्षेत्र “एकचोटि जानैपर्ने गन्तव्य” को रूपमा विकास हुँदैछ। स्थानीयबासीहरूले यस क्षेत्रलाई संरक्षण गर्न सकेमा निकट भविष्यमा यो आन्तरिक तथा धार्मिक पर्यटनको केन्द्र बन्ने सम्भावना प्रबल देखिन्छ।
