सन्धिखर्क, अर्घाखाँची — सन्धिखर्क नगरपालिका–७, खाँचीकोटमा निर्माण सम्पन्न नयाँ स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको छ। सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले एक औपचारिक समारोहका बीच उक्त भवनको उद्घाटन गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रको समृद्धिबाट मात्र दिगो विकास सम्भव हुने बताउँदै स्थानीय सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र जिम्मेवार रहेको उल्लेख गर्नुभयो। उहाँले नयाँ भवन सञ्चालनमा आएपछि गुणस्तरीय सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो।
करिब २ करोडको लागतमा खनाल ब्रदर्श कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको भवन तोकिएको म्यादभन्दा चार महिना अगावै सम्पन्न गरिएको थियो। समयमै निर्माण सम्पन्न गरेकामा निर्माण व्यवसायी कविराम खनाललाई विशेष सम्मान गरिएको छ।
स्वास्थ्य चौकी निर्माणका लागि जग्गा उपलब्ध गराउने सीता केसी र धनबहादुर केसीलाई समेत सो अवसरमा सार्वजनिक रूपमा सम्मान गरियो। कार्यक्रममा वडा अध्यक्ष चुराबहादुर केसीको अध्यक्षता रहेको थियो भने संचालन स्वास्थ्य चौकी प्रमुख प्रेम चन्द्र बिकले गर्नुभएको थियो।
उक्त उद्घाटन समारोहकै अवसर पारेर सन्धिखर्कमा रहेको ओम हस्पिटल प्रा.लि.को प्राविधिक सहयोग तथा नेशनल प्याथ ल्याबको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। विशेषज्ञ चिकित्सकसहितको उपस्थितिमा भएको शिविरमा थुप्रै स्थानीयले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका थिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, महिला स्वयंसेविका, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सन्धिखर्क नगरपालिका–७ फर्ज्याङखोलामा निर्माण सम्पन्न भएको यो स्वास्थ्य चौकी भवनबाट साविकको खाँचीकोट गाविसका वडा नं. २, ३, ४, ५, ६, ७ र ८ का स्थानीयलाई प्रत्यक्ष सेवा पुग्ने आशा गरिएको छ। साविक वडा नं. १ र ९ मा भने आधारभूत स्वास्थ्य सेवा पहिल्यैदेखि सञ्चालनमा रहेको स्वास्थ्य चौकीले जानकारी दिएको छ।

