एजेन्सी = एप्पलले आफ्नो आगामी प्रमुख सफ्टवेयर अपडेट आईओएस २६ चाँडै सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यस अपडेटमार्फत थुप्रै महत्वपूर्ण सुधार र नयाँ सुविधाहरू थपिने अपेक्षा गरिएको छ। यस्तैमा, हालै सार्वजनिक गरिएको आईओएस २६ को बिटा संस्करणमा समावेश एक नयाँ सुविधाले धेरै प्रयोगकर्ताको ध्यान खिचेको छ।

उक्त नयाँ सुरक्षा सुविधाअनुसार, यदि फेसटाइम कलको क्रममा क्यामेराले नग्न वा संवेदनशील सामग्री देख्यो भने प्रयोगकर्ताको भिडियो र अडियो स्वतःरूपमा बन्द हुनेछ। यस्तो अवस्थामा स्क्रिनमा चेतावनी सन्देश देखिनेछ, जसमा लेखिएको हुनेछ –
“अडियो र भिडियो पज गरिएको छ किनभने तपाईंले केही संवेदनशील सामग्री देखाइरहनुभएको हुन सक्छ। यदि तपाईंलाई असहज महसुस भएको छ भने, तपाईं कल अन्त्य गर्न सक्नुहुन्छ।”
यसपछि प्रयोगकर्तालाई ‘कल पुनः सुरु गर्नुहोस्’ वा ‘कल अन्त्य गर्नुहोस्’ भन्ने दुई विकल्प दिइनेछ।
यो सुविधा एप्पलले अघि सारेको सञ्चार सुरक्षा पहल अन्तर्गतको एक महत्त्वपूर्ण कदम हो। यसअघि यो सुविधा केवल परिवारका सदस्यहरू, विशेषतः बालबालिकाका लागि सीमित गरिएको थियो। तर अब, नयाँ अपडेट अनुसार यो सबै आईओएस प्रयोगकर्ताहरूका लागि लागू गरिएको छ।
नयाँ प्रणालीले आईओएस २६ अपरेटिङ सिस्टम भएका सबै उपकरणमा नग्नता वा अश्लीलतासम्बन्धी सामग्रीलाई पहिचान गरी सोही अनुसार कारबाही गर्नेछ। यसले फेसटाइम कललाई थप सुरक्षित र मर्यादित बनाउने आँकलन गर्न सकिन्छ।
