काठमाडौँ-आज हिन्दू वैदिक सनातन धर्म अनुसार आषाढ शुक्ल एकादशी, अर्थात् हरिशयनी एकादशी (तुलसी रोप्ने एकादशी) मनाइँदैछ। यस दिनदेखि चार महिनासम्मको विशेष धार्मिक साधना काल चतुर्मास आरम्भ हुने मानिन्छ, जुन श्रावण, भाद्र, आश्विन र कार्तिक महिनासम्म चल्ने गर्दछ।

धार्मिक मान्यता अनुसार आजकै दिन भगवान श्रीहरि विष्णु क्षीर सागरमा शेषनागको शैयामा शयन गर्न जानुहुन्छ र कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन पुनः जाग्नुहुन्छ। यो अवधिलाई ‘देवशयन’ काल भनिन्छ।
यस अवसरमा श्रद्धालुहरूले व्रत उपवास, तुलसी रोपण, भगवान विष्णुको पूजा-आराधना तथा व्रत कथा श्रवण गर्ने परम्परा छ। तुलसी रोपण आज विशेष महत्वका साथ गरिन्छ किनभने तुलसीलाई भगवान विष्णुको प्रिय वनस्पति मानिन्छ। यस दिन तुलसी रोप्दा पुण्य लाभ हुन्छ भन्ने जनविश्वास छ।
चतुर्मास अवधिमा विवाह, ग्रहप्रवेश, नवनिर्माण जस्ता शुभकार्यहरु नगरिने धार्मिक मान्यता रहेको छ।
यस समयमा साधु-सन्तहरू एकै स्थानमा वास गरेर अध्यात्मिक अभ्यासमा संलग्न हुने गर्दछन्।
हरिशयनी एकादशी व्रतले पाप नाश, पुण्य लाभ र मोक्ष प्राप्तिमा सहयोग गर्ने धार्मिक विश्वास छ।
यस विशेष दिनमा श्रद्धा र भक्ति भावपूर्वक उपवास गरी भगवान विष्णुको पूजा गरेमा जीवनमा शान्ति, समृद्धि र आध्यात्मिक उन्नति प्राप्त हुने धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
