काठमाडौं, – दक्षिण एशियामा भारत र पाकिस्तानबीचको तनाव गहिरिँदै गएको सन्दर्भमा नेपाल सरकारले गहिरो चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र शान्तिपूर्ण संवादबाट समाधान खोज्न आग्रह गरेको छ।

गत २२ अप्रिल २०२५ मा भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतङ्कवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको सम्बन्धमा ठूलो कटुता आएको हो। सो घटनामा एक नेपाली नागरिकको मृत्यु समेत भएको थियो, जसप्रति नेपालले गहिरो दुःख व्यक्त गर्दै भारतसँग ऐक्यबद्धता जनाएको छ।
आक्रमणको जवाफस्वरूप भारतले ‘अप्रेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा रहेका आतङ्ककारी अड्डाहरूमा हवाई आक्रमण गरेको थियो। त्यसै क्रममा भारतले लाहोरको एयर डिफेन्स प्रणाली ध्वस्त पारेको पुष्टि भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्। पाकिस्तानले भने भारतका १५ शहरमा आक्रमण प्रयास गरेको दाबी भारतीय रक्षा अधिकारीहरूले गरेका छन्।
नेपाल सरकारले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालले यस आतङ्ककारी आक्रमणको तुरुन्त र स्पष्ट रूपमा भर्त्सना गर्दै आतंकवादका सबै रूपविरुद्ध आफ्नो दृढ प्रतिबद्धता पुनः दोहोर्याएको छ।”
विज्ञप्तिमा स्पष्ट रूपमा उल्लेख छ कि नेपालले आफ्नो भूमि कुनै पनि दुस्मन शक्ति वा आतङ्ककारी समूहहरूले छिमेकी राष्ट्रविरुद्ध प्रयोग गर्न नदिने नीति अवलम्बन गरेको छ। नेपालले क्षेत्रीय शान्ति, स्थायित्व र सौहार्दतापूर्ण सम्बन्धलाई आफ्नो कूटनीतिक प्राथमिकतामा राखेको पनि जनाइएको छ।
नेपालले सबै पक्षलाई आपसी समझदारी र वार्तामार्फत समस्या समाधान गर्न आह्वान गर्दै, दीर्घकालीन शान्ति र स्थायित्वका लागि प्रतिवद्ध रहेको विज्ञप्तिमा पुनः पुष्टि गरेको छ।
