गाजाको दक्षिणी शहर खान युनिसमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ नेता सलाह अल–बर्दाविल र उनकी श्रीमतीको मृत्यु भएको पुष्टि भएको छ। हमासका एक अधिकारीले बीबीसीलाई जानकारी दिँदै बर्दाविलको ज्यान गएको बताएका छन्। स्थानीय बासिन्दाका अनुसार, इजरायली सेनाले हमासको राजनीतिक कार्यालयलाई लक्षित गर्दै आक्रमण गरेको थियो, जसमा बर्दाविल र उनकी श्रीमतीको ज्यान गएको छ।

तर, इजरायली पक्षले यसबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा गाजा पट्टीका विभिन्न स्थानमा ३२ जना प्यालेस्टिनी मारिएका छन्। इजरायली सेनाले गएको मंगलवारदेखि गाजामा ठूलो आक्रमण सुरु गरेको हो, जसले झन्डै दुई महिनासम्म चलेको युद्धविराम सम्झौता समाप्त भएको छ।
यस घटनाले इजरायल-हमास द्वन्द्वलाई थप चर्काउने संकेत देखिएको छ।इजरायलले हालै हमासका राजनीतिक तथा सैन्य नेताहरूलाई लक्षित गरी आक्रमण गर्ने रणनीति अपनाएको छ। यस घटनाले मध्यपूर्वमा हिंसा झनै बढ्ने सम्भावना देखिएको छ, भने अन्तर्राष्ट्रिय समुदायले इजरायल र हमास दुवै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ।
