काठमाडौं, २९ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले देशमा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले विद्यार्थी संगठनहरूको आडमा दादागीरी हुने र गृहमन्त्रीले अपराधीलाई कारबाही गर्न नसकेको आरोप लगाए। खनालले प्रहरी नै असुरक्षित हुने अवस्था सिर्जना भएको भन्दै, “गृहमन्त्रीको कमाण्डमा रहेको प्रहरीलाई नै सुरक्षा दिन नसक्ने मन्त्री कुन आधारमा पदमा बसिरहने?” भन्दै प्रश्न गरे।
उनले देशमा युवाहरू विदेशिनुमा असुरक्षाको वातावरण पनि मुख्य कारण रहेको बताए। “सुरक्षा छैन, भविष्यको ग्यारेन्टी छैन। अनि युवाहरू किन बस्ने यहाँ? केवल तपाईंहरूलाई भोट हाल्न?” उनले आक्रोश व्यक्त गरे।
केही दिनअघि ठमेलमा अस्कल कलेजका एमाले निकट विद्यार्थी नेताहरूले प्रहरी कुटपिट गरेका थिए। घटनामा संलग्न दिनेश सिग्देल र रशेम फुलरालाई पक्राउ गरिए पनि मुख्य आक्रमणकारी अझै फरार रहेको खनालले संसदमा जानकारी गराए।
