
अर्घाखाँची – अर्घाखाँची, सन्धिखर्क नगरपालिका–६ नरपानीमा सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण गरिएको छ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीद्वारा निर्माण गरिएको मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति पार्कमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शालिक अनावरण गर्नुभएको हो।
शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले सहिदहरूको बलिदानले देशलाई नयाँ गन्तव्यमा पुर्याएको उल्लेख गर्दै उनीहरूको योगदान सधैं स्मरणीय रहने विश्वास व्यक्त गर्नुभयो।
मुख्यमन्त्रीले परिवर्तन, समानता र समृद्धिका लागि सहिदहरूले गरेको बलिदानको उच्च मूल्याङ्कन गर्दै स्मृति पार्क निर्माणले सहिदहरूको योगदानलाई संरक्षण र पुस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले सहिदहरूको सपना पूरा गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। सहिदहरूप्रतिको सम्मानले देशभक्तिको भावना जागृत गर्न योगदान पु¥याएकोमा उहाँले गर्व व्यक्त गर्नुभयो।
शालिक अनावरण समारोहमा मुख्यमन्त्रीले सहिद स्मृति पार्क निर्माणले नयाँ पुस्तालाई प्रेरित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले सहिदहरूको बलिदानलाई स्मरणीय बनाउन सरकारले यस्ता प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार, सहिद पार्कले स्थानीय स्तरमा सामाजिक सद्भाव, प्रेरणा र देशभक्तिको भावना प्रबर्द्धन गर्न सहयोग पुर्याउनेछ।
जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारको पहल
कार्यक्रममा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको क्षेत्रमा हासिल गरेको प्रगतिबारे पनि जानकारी दिनुभयो। प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनको कार्यान्वयनबाट कर्मचारी व्यवस्थापन, परिचालन र वृत्तिविकासको क्षेत्रमा सुधार भएको उहाँले बताउनुभयो।
प्रदेशमा चार हजार ७८ दरबन्दीमध्ये एक हजार ९ सय पद पूर्तिका लागि प्रदेश लोकसेवा आयोगले आफ्नो प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै उहाँले अब प्रदेशमा जनशक्तिको अभाव नहुने विश्वास व्यक्त गर्नुभयो। “पदपूर्ति र बढुवाका काम तीव्र गतिमा अघि बढेका छन्।
यसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ,” उहाँले भन्नुभयो। उपसचिवदेखि मुनिका पदहरूमा दरबन्दी पूरा गरेर सेवा प्रवाहलाई गति दिन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
बिनियोजित बजेट र कार्यक्रम कार्यान्वयनमा जोड
मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा बिनियोजित बजेट र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन तथा अनुगमनका लागि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो।
उहाँले प्रदेश सरकारले योजनाबद्ध तरिकाले अघि बढिरहेको र जनताका समस्या समाधानका लागि सबै तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहकार्य आवश्यक रहेको बताउनुभयो।
समारोहमा सहभागिता र योगदानको कदर
निजामती कर्मचारी संगठन अर्घाखाँचीका अध्यक्ष गणेशप्रसाद अधिकारीले सहिदहरूको सम्मानमा स्मृति पार्क निर्माण गरिएको जानकारी गराउनुभयो। उहाँले सहिदहरूको बलिदानको सम्मानमा गरिएको यस पहलले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा निजामती कर्मचारी, राजनीतिककर्मी, सामाजिक अभियानकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले सहिदहरूको योगदानलाई जीवन्त राख्न र नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनाउन स्मृति पार्क निर्माण महत्त्वपूर्ण रहेको धारणा राखे।
स्मृति पार्कले समाजमा योगदान
स्मृति पार्क र शालिक निर्माणले सहिदहरूको योगदानलाई सधैं सम्झाइराख्ने मात्र नभई, आगामी पुस्तालाई देशप्रतिको जिम्मेवारी र कर्तव्यबोध गराउने माध्यम बन्ने विश्वास गरिएको छ। मुख्यमन्त्री आचार्यले सहिदहरूको योगदान सधैं स्मरणीय रहनुपर्नेमा जोड दिँदै सरकारले योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबैको सहयोग अपरिहार्य रहेको दोहोर्याउनुभयो।
समापनमा सहिदका सपना जीवन्त राख्ने प्रतिवद्धता
कार्यक्रमको समापनमा सहभागीहरूले सहिद स्मृति पार्कले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। सहिदहरूको बलिदानले नयाँ पुस्तालाई प्रेरणा दिने र जिम्मेवार नागरिक बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
