काठमाडौं: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति कडा टिप्पणी गर्दै एमालेले ढोका खुला गरे नेपाल नै सबैभन्दा अघि प्रवेश गर्ने दाबी गर्नुभएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा समाजवादी प्रेस संगठनका थुप्रै शीर्ष नेताहरू प्रेस चौतारीमा समाहित भएपछि महासचिव पोखरेलले माधव नेपालको नेतृत्वको औचित्य समाप्त भएको बताउनुभयो।

प्रेस चौतारी नेपालले समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायत दर्जनौं नेताहरूलाई स्वागत गर्दै कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा महासचिव पोखरेलले १५ वर्ष एमालेको नेतृत्व गरेका माधव नेपालले पार्टी विभाजन गराएर ठूलो गल्ती गरेको टिप्पणी गर्दै भन्नुभयो, “अब उहाँले जति रोइकराइ गरे पनि समाजवादीबाट एमालेमा फर्कने लहरलाई रोक्न सक्नुहुन्न।”
महासचिव पोखरेलले एमालेमा बहस र अभिमत राख्न नपाइने भाष्य निर्माण गरेर अलग्गिएको समाजवादी पार्टीले देशभर नेता–कार्यकर्ताको भरोसा गुमाएको तर्क गर्नुभयो। उहाँले समाजवादी नेताहरूको चौतारी प्रवेशले माधव नेपालको नेतृत्वप्रति गहिरो असन्तुष्टि झल्किएको बताउनुभयो।
पार्टीका पूर्वउपाध्यक्ष भीम रावलको विषयमा पोखरेलले थप्दै भन्नुभयो, “पार्टीले निर्णय गर्नु अघि आफ्ना धारणा राख्न पाउने, तर निर्णयपछि त्यसलाई कार्यान्वयन गर्ने पार्टीको सिद्धान्त हो। तर डा. रावलले सँधै नेतृत्वको आलोचना गर्दै पार्टीको विधि मान्न नसक्ने व्यवहार देखाउनुभयो।”
कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा समाजवादी प्रेस संगठनका दर्जनौं नेताहरूलाई औपचारिक रूपमा स्वागत गरियो। प्रवेश गर्नेहरूमध्ये प्रमुख रूपमा समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनल र नेपाल पत्रकार महासंघका केही नेताहरू थिए। सुवेदीले समाजवादी पार्टीको नेतृत्व माधव नेपालको व्यक्तिगत स्वार्थले निर्देशित भएको र यो संगठनले अब कुनै भविष्य नराख्ने दाबी गर्नुभयो।
उहाँले थप्नुभयो, “माधव नेपालले एमाले फुटाएर देशभरका कार्यकर्तालाई निराश बनाउनु भयो। अहिले समाजवादी नेताहरू चौतारीमा समाहित हुनु भनेको नयाँ भरोसाको संकेत हो।”
महासचिव पोखरेलले माधव नेपालको पार्टी नेतृत्व विफलताले समाजवादीको अस्तित्व संकटमा परेको र एमालेबाट अलग भएर बनेका कुनै पनि पार्टीले जनता र नेता–कार्यकर्ताको विश्वास जित्न नसकेको स्पष्ट पार्नुभयो। “२०५४ मा वामदेव नेतृत्वको माले जस्तै अहिलेको समाजवादी पार्टीको हालत पनि उस्तै छ,” पोखरेलले भन्नुभयो।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले समाजवादी प्रेस संगठनका शीर्ष नेतृत्व चौतारीमा प्रवेश गरेपछि समाजवादी पार्टीको औचित्य समाप्त भएको बताउनुभयो। उहाँले अब समाजवादी नेताहरू चौतारीमा आबद्ध हुने लहर तीव्र हुने दाबी गर्नुभयो।
“चौतारीमा प्रवेश गर्नेहरूलाई पुरानो घरको आत्मीयता फर्किएको महसुस गराइनेछ,” गौतमले भन्नुभयो।
कार्यक्रमले एमालेको संगठनात्मक बलियोपन र समाजवादी पार्टीको कमजोर अवस्थालाई उजागर गरेको छ। चौतारीमा समाजवादी नेताहरूको लहरले देशभर एमालेको प्रभाव झनै बलियो हुने संकेत देखिएको छ। “एमाले नै पुरानो घर हो। समाजवादी नेताहरूले यो बुझिसकेका छन्। अब समाजवादीको नेतृत्वले चाँडै आफ्नो असफलता स्वीकार गर्नुपर्छ,” महासचिव पोखरेलले स्पष्ट गर्नुभयो।
