
- उज्यालो नेपाल पार्टीले बागमती प्रदेशमा आफ्नो सरकार बन्ने दाबी गरेको छ।
- पार्टीको मुख्य लक्ष्य देशको आर्थिक रूपान्तरण र सुशासन कायम गर्नु हो।
- आगामी निर्वाचनलाई लक्षित गर्दै देशभर संगठन विस्तारको काम तीव्र पारिएको छ।
काठमाडौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्।
मंगलबार हेटौँडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी घिसिङले बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक आधार तयार भइसकेको दाबी गरेका हुन्।

घिसिङले उज्यालो नेपाल प्रदेशमा मात्रै सीमित नरहने र आगामी दिनमा संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढिरहेको बताएका छन्। उनका अनुसार पार्टीको मुख्य लक्ष्य सत्ता प्राप्ति मात्र नभई देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्नु र विभेदको अन्त्य गर्नु हो।

उनले उज्यालो नेपाल कुनै जाति, धर्म वा समुदाय विशेषको पार्टी नभएको बताउँदै मध्यमार्गी राजनीतिक धारबाट अघि बढ्ने उल्लेख गरे। आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’लाई मुख्य आधार बनाउने उनको भनाइ छ।
घिसिङले वर्तमान सरकारले गठन भएको करिब छ महिनाको अवधिमा जनताले अपेक्षा गरेअनुसारको परिणाम दिन नसकेको टिप्पणीसमेत गरेका छन्। यद्यपि उनले सरकारलाई पूर्ण रूपमा असफल भइसकेको निष्कर्षमा पुग्ने अवस्था नरहेको बताएका छन्।
यसैबीच, आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपालले देशभर संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्र बनाइरहेको घिसिङले नेपाल खोज खबरलाई जानकारी दिएका छन्।
घिसिङको दाबीअनुसार अब बागमती प्रदेशलाई आधार बनाएर उज्यालो नेपाल प्रदेशदेखि संघसम्म आफ्नो राजनीतिक उपस्थिति विस्तार गर्ने रणनीतिमा अघि बढेको देखिन्छ।
