
- मुगुको रारा विमानस्थलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ।
- खुला छोडिएको ट्याङ्कीमा पौडी खेल्ने क्रममा भामवाडाका गौरव भामको ज्यान गएको हो।
- निर्माणस्थलमा बालबालिका सजिलै प्रवेश गर्न सक्ने अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
रतन बहादुर रावल
निर्माणाधीन सेप्टिट्याङ्कीमा डुबेर १३ वर्षीय बालकको मृत्यु

मुगु – रारा विमानस्थल ताल्चामा निर्माणाधीन टर्मिनल भवनको करिब १४ फिट गहिरो शाैचालयकाे सेप्टिट्याङ्कीमा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ।
छायाँनाथ रारा नगरपालिका–४ भामवाडा निवासी जयबहादुर भामका १३ वर्षीय छोरा गौरव भामको सेप्टिक ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिएका छन्।
प्रनाउ थपलियाका अनुसार गौरवसहित अर्की एक बालिका पौडी खेल्न निर्माणाधीन सेप्टिक ट्याङ्कीमा पुगेका थिए। गौरव ट्याङ्कीभित्र पसेर डुबेका थिए भने बालिका भने ट्याङ्कीमा नपसेका कारण सकुशल रहेकी छन्।
प्रहरीका अनुसार निर्माणाधीन सेप्टिक ट्याङ्की खुला अवस्थामा रहेको र विमानस्थलको तारजालीबाट बालबालिका निर्माणस्थलभित्र प्रवेश गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए।
