
- अर्घाखाँची नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा विभिन्न असन्तुष्टि र विवाद देखिएका छन्।
- उम्मेदवारहरूले निर्वाचनमा पारदर्शिताको अभाव, अन्तिम समयमा समीकरण परिवर्तन र दबाब दिइएको गुनासो गरेका छन्।
- पार्टीभित्रको भविष्य बिग्रने डरले धेरै उम्मेदवारहरू असन्तुष्ट भएर पनि खुलेर बोल्न सकिरहेका छैनन्।
अर्घाखाँची । वडा अधिवेशन सम्पन्न भएपछि असोज १२ र १३ गते भएको नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया अहिले मतगणनाको चरणमा पुगेको छ। मतदान सकिएर मतगणना चलिरहँदा जिल्लामा भने निर्वाचन प्रक्रियालाई सतहमा आउन थालेका छन्।
महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका केही व्यक्तिहरूसँग गरिएको कुराकानीका क्रममा उम्मेदवारी व्यवस्थापनदेखि मतदान प्रक्रियासम्म विभिन्न विषयमा असन्तुष्टि रहेको पाइएको छ। कतिपय उम्मेदवारले सामाजिक सञ्जालमार्फत समेत निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएका छन्।
तर असन्तुष्टि हुँदाहुँदै पनि अधिकांशले आफ्नो नाम सार्वजनिक गरेर बोल्न भने चाहेका छैनन्। पार्टीभित्रको आगामी राजनीतिक सम्बन्ध र जिम्मेवारीलाई ध्यानमा राख्दै खुलेर बोल्दा अप्ठ्यारो पर्न सक्ने भन्दै कतिपय उम्मेदवार मौन बसेका छन्।
उम्मेदवारहरूसँगको कुराकानीमा विशेषगरी सर्वसम्मतिको आश्वासन, उम्मेदवारीबाट पछि हट्न दिइएको दबाब, अन्तिम समयमा कोटा वा उम्मेदवारीको समीकरणमा भएको फेरबदल तथा प्रतिस्पर्धाका लागि पर्याप्त समय नदिइएको जस्ता गुनासा सुनिएका छन्।
एक उम्मेदवारका अनुसार उम्मेदवारी दर्तापछि आफूलाई प्रतिस्पर्धाबाट पछि हट्न आग्रह गर्दै सर्वसम्मत हुने आश्वासन दिइएको थियो। आफू सर्वसम्मत हुने विश्वासमा रहेका उनी अन्तिम समयमा मात्र वास्तविक निर्वाचनको अवस्था थाहा पाएको दाबी गर्छन्।
अर्का एक उम्मेदवारले पनि आफूलाई निर्वाचनको वास्तविक समीकरणबारे समयमै जानकारी नदिइएको गुनासो गरेका छन्। मतदान प्रक्रिया अघि बढिसकेपछि मात्रै प्रतिस्पर्धाको अवस्था स्पष्ट भएको र छोटो समयमै तयारी गरेर निर्वाचनमा होमिनुपरेको उनको भनाइ छ।
यी दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ।

निर्वाचन प्रक्रिया चलिरहेका बेला केही कांग्रेस कार्यकर्ताले सामाजिक सञ्जालमार्फत पनि असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सर्वसम्मतिको नाममा उम्मेदवारलाई पछि हटाउने, अन्तिम समयमा समीकरण परिवर्तन गर्ने / सिन्डिकेट लगाउने आन्तरिक रुपमा तथा निर्वाचन प्रक्रियामा पारदर्शितामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन्।
कतिपयले निर्वाचन निष्पक्ष र पारदर्शी हुनुपर्ने भन्दै पार्टीभित्र देखिएको प्रवृत्तिमाथि प्रश्न उठाएका छन्।
तर सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूकै बीचमा पनि खुलेर आफ्नो नामसहित बोल्नेभन्दा संकेत र असन्तुष्टिमार्फत कुरा राख्ने प्रवृत्ति देखिएको छ।
अर्घाखाँची कांग्रेसमा नेतृत्व र निर्णय प्रक्रियामाथि लामो समयदेखि सीमित व्यक्तिहरूको प्रभाव रहेको भन्ने गुनासो यसपटकको महाधिवेशन प्रतिनिधि छनोटका क्रममा पनि सुनिन थालेको छ।
पार्टीभित्र नयाँ पुस्ताको सहभागिता, पुस्तान्तरण र रूपान्तरणको बहस चलिरहे पनि निर्णय प्रक्रियामा भने सीमित व्यक्तित्वको घेरा अझै कायम रहेको भन्दै केही कार्यकर्ता असन्तुष्ट छन्।
यदि पार्टीको आन्तरिक लोकतन्त्र बलियो बनाउने हो भने उम्मेदवारीदेखि मतदानसम्मको प्रक्रियामा सबै उम्मेदवारलाई समान अवसर, समान सूचना र प्रतिस्पर्धाको समान वातावरण किन नदिएको होला खैर उनै जानुन्।
महाधिवेशन प्रतिनिधि बन्न प्रतिस्पर्धामा रहेका कतिपय उम्मेदवारको अवस्था अहिले “न निल्नु, न ओकल्नु” जस्तो देखिएको छ।
निर्वाचन प्रक्रियाप्रति चित्त नबुझेका कुरा छन्, सामाजिक सञ्जालमा टिप्पणी पनि भइरहेका छन्, तर पार्टीभित्रको सम्बन्ध र आगामी राजनीतिक भूमिकालाई ध्यानमा राख्दै खुलेर बोल्न धेरैजना तयार देखिँदैनन्।
यही मौनताबीच अहिले मतगणना भइरहेको छ।
मतगणनाको परिणामले प्रतिनिधि छनोटको अन्तिम तस्वीर देखाउनेछ। तर त्यससँगै निर्वाचन प्रक्रिया कत्तिको पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धात्मक रह्यो भन्ने प्रश्न भने परिणामपछि पनि बहसको विषय बन्ने देखिन्छ।
