अछाम — बान्नीगढी जयगढ गाउँपालिका–७ स्थित जयगढ बजारमा सोमबार साँझ लागेको भीषण आगलागीमा दुई दर्जनभन्दा बढी घर तथा पसल पूर्ण रूपमा ध्वस्त भएका छन्।

स्थानीय प्रशासनका अनुसार आगलागी साँझ करिब ६ बजे सुरु भएको थियो र नियन्त्रणमा ल्याउन ६ घण्टासम्म समय लागेको थियो। आगलागीबाट करोडौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
बजार क्षेत्रमा दमकलको पहुँच नहुँदा आगो नियन्त्रणमा ल्याउन कठिनाइ भएको थियो। स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको बताइएको छ । मानवीय क्षति नभएको जनाइएको छ, तर विस्थापित परिवारहरूको संख्या उल्लेख्य रहेको बताइएको छ।
घटना भएलगत्तै गाउँपालिकाले राहत तथा उद्धार कार्य सुरु गरेको छ। प्रभावित परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने अस्थायी आवास, खाद्यान्न, लत्ताकपडा लगायतको राहत सामग्री उपलब्ध गराउने तयारी भइरहेको जनाइएको छ।
आगलागीको कारणबारे यकिन नभए पनि प्रारम्भिक अनुमानअनुसार विद्युत सर्ट सर्किटबाट आगो सुरु भएको हुन सक्ने जनाइएको छ। विस्तृत अनुसन्धानका लागि प्रहरी टोली खटाइएको छ।
यसअघि पनि अछाम जिल्लाका विभिन्न गाउँ तथा बजार क्षेत्रहरूमा यस्ता आगलागीका घटनाहरू भइरहँदा पूर्वतयारीको अभाव देखिएको छ। स्थानीय बासिन्दाले यस्ता आपतकालीन अवस्थाका लागि पूर्वाधार तथा उपकरणमा लगानी गर्न माग गरेका छन्।
