

अर्घाखाँची । संस्कृत व्याकरणका पिता तथा भाषाशास्त्रका आदिशिल्पी महर्षि पाणिनिको तपोभूमिमा ऐतिहासिक रुपमा आयोजना हुन लागेको पाणिनि तपोभूमि सम्मेलन–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार सम्मेलनस्थलको स्थलगत निरीक्षण गर्दै आयोजनाका सम्पूर्ण पक्षबारे जानकारी लिनुभएको हो।
अर्घाखाँचीको पाणिनी गाउँपालिकालाई सम्मेलनको मुख्य केन्द्र बनाइएको छ। चैत २७ र २८ गते विशेष कार्यक्रमका साथ आयोजना हुने सम्मेलनको पूर्वतयारी अवलोकनका लागि मुख्यमन्त्रीसहित सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरूको टोलीले स्थल भ्रमण गरेका छन्।
निरीक्षणपछि मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक, शैक्षिक तथा पर्यटन सम्भावनाले भरिपूर्ण पाणिनि तपोभूमिको दिगो विकासका लागि सम्मेलन मील का पत्थर सावित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आयोजनालाई भव्य र व्यवस्थित बनाउन विविध पक्षमा देखिएको तयारीप्रति सन्तोष व्यक्त गर्दै सुरक्षा, यातायात, आवास, खानपान, सरसफाइ, आतिथ्य सत्कार र कार्यक्रम व्यवस्थापनलाई अझ चुस्त र प्रभावकारी बनाउने निर्देशन दिनुभयो।
सम्मेलनको मूल उद्देश्य संस्कृत व्याकरणका जन्मदाता पाणिनिको स्मृतिस्थलको पहिचान विस्तार गर्नु मात्र होइन, धार्मिक पर्यटन प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण, र भविष्यमा पाणिनी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नु हो।
स्थानीय तह, लुम्बिनी प्रदेश सरकार, नेपाल पर्यटन बोर्डलगायत विभिन्न निकायहरूको सहकार्यमा आयोजना हुन लागेको यो सम्मेलनले दीर्घकालीन प्रभाव पार्ने विश्वास गरिएको छ। सम्मेलनपछि पाणिनी क्षेत्रको सामाजिक–आर्थिक रूपान्तरणमा समेत गति थपिने अपेक्षा गरिएको छ।
