मुगु – माघ २१
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुगु जिल्लामा नमुना मतदान (डेमो) प्रदर्शन गरिएको छ।

सदरमुकाम गमगढीस्थित देविदत्त गण (ख) सुरक्षा सेमामा मतदातालाई मतदान प्रक्रिया, मतदान केन्द्रको व्यवस्थापन, भिड नियन्त्रण तथा सम्भावित अनियमितता र धाँधली रोकथामका उपायबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
नेपाली सेना श्री हनुमान ध्वज गुल्म मुगुको आयोजनामा सम्पन्न कार्यक्रममा मतदाता प्रवेशदेखि मत खसाल्ने प्रक्रियासम्मका सम्पूर्ण चरण व्यवहारिक रूपमा प्रदर्शन गरिएको थियो।
निर्वाचनका क्रममा आउन सक्ने सुरक्षा चुनौती र त्यसको व्यवस्थापनबारे सुरक्षाकर्मीहरूले प्रत्यक्ष अभ्यास समेत गरेका थिए।
सेनानी खड्गबहादुर श्रेष्ठका अनुसार कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मतदान केन्द्रको सुरक्षा व्यवस्था, शान्ति सुव्यवस्था कायम गर्ने उपाय तथा आकस्मिक अवस्थाको व्यवस्थापनसम्बन्धी डेमो प्रस्तुत गरेको नेपाल खोज खबर लाई बताउनु भयो।
यस्ता कार्यक्रमले निर्वाचनलाई सुरक्षित, विश्वसनीय र मर्यादित ढंगले सम्पन्न गर्न सुरक्षा निकायहरूबीचको समन्वय र तयारीलाई अझ स्पष्ट बनाउने उनको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्नु सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा नागरिक समाज सबैको साझा दायित्व भएको बताए।
उनले मतदातालाई ढुक्कका साथ मतदान प्रक्रियामा सहभागी हुन आग्रह समेत गरे।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। निर्वाचनलाई मध्यनजर गर्दै यसअघि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकायहरूको बैठक सम्पन्न भएको र आज शान्ति सुरक्षाको अभ्यासस्वरूप नमुना मतदान प्रदर्शन गरिएको सेनानी श्रेष्ठले जानकारी दिए।

