अर्घाखाँची – जबरजस्ती करणी तथा बाल विवाह मुद्दामा अदालतबाट सजाय तोकिएर ६ वर्षदेखि फरार रहेका दुई जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प`क्राउ गरेको छ।

अर्घाखाँची जिल्ला अदालत ले २०७५ साल माघ ८ गतेको फैसला र उच्च अदालत तुल्सीपुर, बुटवल इजलासको २०७८ साल भदौ २९ गतेको फैसलाले जबरजस्ती करणी तथा बाल विवाह मुद्दामा दोषी ठहर गर्दै दुई–दुई महिना कैद सजाय सुनाइएका बसन्ता के.सी (२९) र रेखा के.सी (२७) लाई जिल्ला प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका दुबै जना प्यूठान जिल्ला, झिमरुक गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।
जिल्ला प्रहरीले उनीहरूलाई २०८१ साल फागुन १८ गते अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, शान्ति बगैचाबाट प`क्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि अदालतमा पेश गरेको थियो।
अदालतको आदेशअनुसार दुबैजनालाई अर्घाखाँची जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
घटनाको संक्षिप्त विवरणअनुसार, बसन्ता के.सी. र रेखा के.सी. ले २०७४ साल चैत १६ गते १४ वर्षीया पीडितलाई विभिन्न प्रलोभन देखाई लोकेन्द्र भुसालसँग रागामारे मन्दिरमा बाल विवाह गराइदिएका थिए। त्यसपछि लोकेन्द्र भुसालले पीडितलाई जबरजस्ती करणी गरेको थियो। अदालतले लोकेन्द्र भुसाललाई जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद तथा रु. ५०,०००० जरिवाना र बाल विवाह मुद्दामा २ वर्ष २ महिना कैदको सजाय सुनाएको थियो।
हाल उनी अर्घाखाँची जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन्।
यस घटनामा संलग्न बसन्ता के.सी. र रेखा के.सी. लाई मतियारको भूमिकामा दोषी ठहर गरी अदालतले २–२ महिना कैद सजाय तोकेको थियो। उनीहरू भने ६ वर्षदेखि फरार रहँदै आएका थिए।
पक्राउ प्रक्रिया सफल पार्न खटिएको प्रहरी टोलीलाई धन्यवाद दिँदै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कानूनको पालना गराउन सबै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।
