काठमाडौ – त्रिभुवन विश्वविद्यालय (टियु)ले भारतको ओडीसास्थित केआइआइटी विश्वविद्यालयबाट नेपाल फर्किएका विद्यार्थीहरूको भर्ना लिने घोषणा गरेको छ। मंगलबार जारी गरिएको विज्ञप्तिमा त्रिविले आफ्नो क्रेडिट ट्रान्सफर नीतिअनुरुप इच्छुक विद्यार्थीहरूलाई भर्ना लिने जानकारी गराएको हो।

केआइआइटी विश्वविद्यालयमा सिर्जना भएको परिस्थितिका कारण स्वदेश फर्किन बाध्य नेपाली विद्यार्थीहरूले त्रिविमा उपलब्ध कार्यक्रम र विषयहरूमा अध्ययन गर्न सक्ने व्यवस्था मिलाइएको त्रिविले जनाएको छ। इच्छुक विद्यार्थी तथा अभिभावकलाई rectoroffice@tu.edu.np वा rector@tu.edu.np इमेलमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ।
गत फेब्रुअरी १६ मा केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई जबरजस्ती होस्टेलबाट निकालेर रेलवे स्टेशन पुर्याएको थियो। उक्त घटनाले दुई देशका सरकारहरूलाई कूटनीतिक संवाद गर्नुपर्ने अवस्था सिर्जना गरेको थियो।
