
बुटवल, रुपन्देही — अवैध लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा बुटवलमा प्रहरीले मोटरसाइकलसहित एक जनालाई प`क्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१०, चौराहा चोकमा लु ९५ प २७८३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो।

पक्राउ पर्नेमा नवलपरासी, प्रतापपुर गाउँपालिका–२, गोपिगञ्जका २८ वर्षीय मनिराम चमार रहेका छन्। उनको साथबाट १,००० एम्पुल फेनरागन, १,००० एम्पुल डाइजेपाम, १,००० एम्पुल नुफिनसहित उक्त मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चमारलाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतले पाँच दिनको म्याद थप गरेको छ। हाल इलाका प्रहरी कार्यालय बुटवलबाट आवश्यक अनुसन्धान जारी रहेको सूचना अधिकारी सुरज कार्कीले नेपाल खोजखबर लाई जानकारी दिएका छ्न ।

