
काठमाडौं – आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व रेडियो दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा यस वर्ष जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र त्यसको अनुकूलनबारे सचेतना फैलाउने उद्देश्यसहित विशेष रेडियो कार्यक्रमहरू प्रसारण गरिँदैछ।
रेडियो दिवसको इतिहास
सन् २०११ मा युनेस्कोका सदस्य राष्ट्रहरूले फेब्रुअरी १३ लाई अन्तर्राष्ट्रिय रेडियो दिवस का रूपमा मनाउने प्रस्ताव गरेका थिए। त्यसलाई राष्ट्रसङ्घीय महासभाले सन् २०१२ मा अनुमोदन गरेपछि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो।
रेडियोको प्रभावकारी भूमिका
लोकतान्त्रिक बहसको लागि शक्तिशाली माध्यम मानिने रेडियो संसारभरका अर्बौं मानिसका लागि सबैभन्दा सहज र पहुँचयुक्त सञ्चार माध्यम हो। रेडियोले समाजको विविधता झल्काउने, एकता कायम गर्ने, आवाजविहीनहरूको आवाज बुलन्द गराउने तथा विभिन्न समुदायको प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
सूचना, शिक्षा र सामाजिक परिवर्तनमा रेडियो
रेडियो केवल समाचार प्रसारण गर्ने माध्यम मात्र होइन, यसले सूचना, मनोरञ्जन र शिक्षा प्रदान गर्दै सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। लोकतान्त्रिक समाज निर्माण र सकारात्मक संवाद प्रवर्द्धन गर्न रेडियो अहिलेसम्मकै प्रभावकारी माध्यम मानिन्छ।
आजको दिनले रेडियोको महत्त्वलाई पुनः स्मरण गर्दै यसको प्रयोगलाई अझ प्रभावकारी बनाउने प्रेरणा दिन्छ।
