नयाँ दिल्ली – भारतको नयाँदिल्लीमा आज नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दैछ। बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माणको मोडालिटी तय गरिनेछ, जसअन्तर्गत नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार निर्माणबारे छलफल हुनेछ।

बैठकमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यसहितको नेपाली टोली नयाँदिल्ली पुगेको छ। गत माघ ९ गते नेपाल-भारत ऊर्जा सहसचिवस्तरीय कार्यदलको १२औँ बैठकमा अन्तरदेशीय प्रसारणलाइन निर्माण र विद्युत् आयात-निर्यात प्रक्रियालाई थप सहज बनाउने सहमति भएको थियो। सचिवस्तरीय बैठकले उक्त सहमति अनुमोदन गरेपछि कार्यान्वयन अघि बढ्ने ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए।
दुई देशबीच नेपालको इनरुवादेखि भारतको पूर्णिया र नेपालको दोधारादेखि भारतको बरेलीसम्म चार सय केभीका दुई प्रसारण लाइन सन् २०३० सम्म निर्माण गर्ने सहमति भएको छ। यस्तै, चमेलिया-जौलजीवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (DPR) सन् २०२५ सम्म तयार गर्ने योजना रहेको बताइएको छ ।
ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता हालको आठ सय मेगावाटबाट एक हजार मेगावाट पुर्याउने योजना तय भएको छ। साथै, सन् २०३५ भित्र चार सय केभीका निजगढ-मोतीहारी र कोहलपुर-लखनऊ प्रसारण लाइन निर्माण सम्पन्न गर्ने सहमति भएको छ । र उक्त योजनालाई सचिवस्तरीय बैठकले अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।
