२२ माघ, काठमाडौं । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफी आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्ने भएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार, उनीहरूले मंगलबार साँझ शीतल निवास पुगेर राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

बेलायती राजकुमार एडवार्ड बिहान साढे १० बजे र उनकी श्रीमती सोफी दिउँसो करिब २ बजे भारत हुँदै नेपाल आउनेछन्। नेपाल आएपछि उनीहरू लैनचौरस्थित बेलायती राजदूतावास जाने कार्यक्रम रहेको बताइएको छ । तालिकाअनुसार, दिउँसो सवा ४ बजे उनीहरू शीतल निवास प्रस्थान गर्ने र राष्ट्रपति पौडेलसँग भेटपछि पुनः लैनचौर फर्कने कार्यक्रम रहेको छ ।
छ दिनसम्म नेपाल बस्ने राजकुमार दम्पती माघ २७ गते साँझ स्वदेश फर्कनेछन्। भ्रमणका क्रममा उनीहरूले पोखराको ब्रिटिश गोर्खा क्याम्पमा जाने र हालै बेलायती सेनामा छनोट भएकाहरूको ब्याज वितरण परेडमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।
यसबाहेक, उनीहरूले नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्नेछन्। साथै, स्वास्थ्य सेवा तथा मानव बेचबिखन र लैंगिक हिंसाबाट बचेकाहरूलाई सहयोग गर्ने संस्थाहरूको भ्रमण समेत गर्नेछन्।
