
काठमाडौँ । देशभरका विभिन्न क्षेत्रहरूमा पछिल्ला केही दिनदेखि अप्रत्याशित रूपमा तापक्रम बढ्न थालेको छ। माघ महिना लागेदेखि नै काठमाडौँसहितका स्थानहरूमा न्यूनतम र अधिकतम तापक्रम दुवै उल्लेखनीय रूपमा उकालो लागेको छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार लामो समयदेखि पानी नपर्नु र भारतमा रहेको उच्च चापीय प्रणालीको प्रभावले तापक्रम बढ्न थालेको हो। उहाँले भन्नुभयो, “उच्च चापीय प्रणालीले तापक्रम वृद्धि गराएको छ। अबको केही दिनमा यसको प्रभाव कम हुने भए पनि तापक्रम उकालो लाग्ने मौसमीय समय सुरु भइसकेको छ।”
आजको मापनअनुसार काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगेको छ भने न्यूनतम तापक्रम ६.२ डिग्री छ। देशकै सबैभन्दा चिसो ठाउँ जुम्लामा माइनस ३.५ डिग्री सेल्सियस मापन गरिएको छ। देशका २१ मापन केन्द्रहरूमध्ये ११ ठाउँमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि पुगेको छ।
दिपायलमा अधिकतम तापक्रम २७.२ डिग्री र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन गरिएको छ। यस्तै, केही दिनभित्र भारतको उच्च चापीय प्रणाली सर्ने सम्भावना भएकाले तापक्रम वृद्धि दर केही घट्न सक्ने भए पनि मौसमविद्हरूले तापक्रम अझै बढ्ने सम्भावना रहेको बताएका छन्।
